• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

तनहुँका ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गराए

  • खबरदाता

तनहुँका ४२ हजार घरधुरीले स्वास्थ्य बीमा गराए

पुस २५, २०७९

 

तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ।

सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदैआएको छ ।

जिल्लामा पहिलो वर्ष आठ हजार सात सय ५१, दोस्रो वर्ष नौ हजार ४३, तेस्रो वर्ष १७ हजार तीन सय ८९, चौथो वर्ष सात हजार पाँच सय ७२ र चालु आर्थिक वर्षमा दुई हजार दुई सय ११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना अधिकारीले बताइन् ।

आव २०७४(७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सय बुझाएर बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप रु सात सय भुक्तानी गर्नुपर्ने प्रावधान छ ।

सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो । तर स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउनेगरेको छ ।

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ । वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मङ्सिर १ गते, कात्तिक मङ्सिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् । रासस

  • प्रकाशित मिति : पुस २५, २०७९, सोमवार ०७:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८