• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सहज छैन दाहाललाई विश्वासको मत पाउन,उल्टिन सक्छ समीकरण !

  • खबरदाता

सहज छैन दाहाललाई विश्वासको मत पाउन,उल्टिन सक्छ समीकरण !

पुस २५, २०७९

 

 

नेकपा एमाले नेतृत्वमा एकाएक बनेको सत्ता गठबन्धनका घटकबीच पदको भागबण्डा लगभग मिलेको छ । खास गरी प्रदेशहरुमा मुख्यमन्त्री र सभामुख पदको भागबण्डा मिलेको हो ।

प्रदेश १ मा बहुमतनजिक रहेको एमालेबाट हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् भने एमालेभन्दा निकै कम सिट रहेको माओवादीले सभामुख पद पाएको छ । त्यहाँ संसद र सरकार प्रमुखका दुवै पदमा एमालेले दावी गरे पनि गठबन्धन जोगाउन अन्तिम समयमा केन्द्रीय नेतृत्वले उदारता देखाएको थियो । जबकि त्यहाँ एमालेलाई एक सिट मात्र अपुग थियो । सरकार बनाउन जसपालाई फकाए पुग्थ्यो ।

सुदूरपश्चिममा ठिक उल्टो परिदृश्य देखिएको छ । तुलनात्मक रुपमा केही कमजोर रहेको एमालेले सुदूरपश्चिममा सरकारको नेतृत्व पाउने गरी गठबन्धनमा भागबन्डा त भएको छ तर उसको सरकार बन्ने सम्भावना भने क्षीण छ । किनभने त्यहाँ सरकार निर्माणको चाबी नागरिक उन्मुक्ति पार्टीसँग छ र यो दल अन्तिम समयमा नाटकीय रुपमा विपक्षी कित्तामा गएको छ । उन्मुक्तिले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ र प्रतिपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइदिन संसद सचिवालयलाई पत्राचार गरेको छ ।

नागरिक उन्मुक्तिले रेशम चौधरी लगायत कैलालीको टीकापुर नरसंहारका दोषीहरुको रिहाइको माग सम्बोधन नभएको भन्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको घटनामा जिल्ला अदालत कैलालीले दोषी ठहर गरेका रेशम २०७४ फागुनदेखि कारागारमा छन् । उनले स्थानीय तहको निर्वाचनअघि आफ्नी पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गराएका थिए । उक्त पार्टीसँग प्रतिनिधिसभामा ४ सांसद छन् । पुस १० मा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेको थियो ।

दुई–दुई तहका अदालतले दोषी ठहर गरी सजाय भुक्तान गरिरहेका र सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएका बेला सरकारले मुद्दा फिर्ता वा रिहा गर्न सक्दैन भन्ने जान्दाजान्दै उन्मुक्ति रातारात अर्को कित्तामा जानु रहस्यमय छ । दाहाल सरकारका लागि यो निकै ठूलो झट्का पनि हो ।सत्ता गठबन्धन भत्काउने यात्रामा कांग्रेसलगायतका विपक्षीका लागि यो निकै ठूलो उपलब्धि पनि हो । अब कांग्रेस र समाजवादीको समर्थनमा उन्मुक्तिले मुख्यमन्त्री पाउने सम्भावना बलियो बनेको छ ।

योसँगै १६९ सांसदको समर्थनसहित प्रधानमन्त्री बन्न पुगेका दाहालले विश्वासको मत पाउने कुरामा सोह्रै आना ढुक्क भएर बस्न नसक्ने स्थिति बनेको छ । रात रहे अग्राख पलाउँछ भनेझैँ अन्तिम समयमा पासा जतातिर पनि पल्टिन सक्ने देखिएको छ । उन्मुक्तिसँगै अर्को कुनै घटकबाट पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिको दबाब र प्रभावमा धोका हुन सक्ने सम्भावना प्रबल देखिएको छ ।

हुन त एमाले, माओवादी, राप्रपा, रास्वपा र जसपा एक ठाउँमा हुन्जेल गणितीय रूपमा यो सरकार सुरक्षित रहन्छ । करिब १४० सिट गठबन्धनसँग हुनेछन् । त्यसमाथि मधेसमा मुख्यमन्त्री पाइसकेपछि जनमत पार्टीको समर्थन पनि तत्काल तलमाथि नहोला भन्ने अनुमानसम्म गर्न सकिन्छ । तर, भरखर जन्मिएकादेखि पञ्चायतकालदेखि शक्तिमा राइँदाइँ गरेका दलको गठबन्धन टिकाउन फलामको चिउरा चपाउनुसरह नै छैन । जुनसुकै बेला कुनै पनि दल वा तिनका सांसदहरूले धोका दिन सक्नेछन् । आफै परेको डुँगामा प्वाल पार्न सक्नेछन् ।

जसरी दोस्रो ठूलो दल एमालेले आफूभन्दा आधाभन्दा पनि सानो दल माओवादीलाई प्रधानमन्त्री पद दिएर साविकको गठबन्धन भत्काइदियो, त्यसको बदलामा कांग्रेसले अझै चौथो र पाँचौ नम्बरका दललाई ठूलो भाग दिएर यो गठबन्धन भत्काउने सुविधा अझै कायमै छ । विश्वासको मत दिने बेलामा दुई–चार सांसद बिरामी भएर अनुपस्थित भइदिने हो भने मात्र पनि दाहाल सरकार धरमर भइहाल्नेछ । पृष्ठभूमिमा यसका लागि निकै ठूलो कसरत भइरहेको पनि छ । तसर्थ प्रधानमन्त्री पुष्पमकल दाहालको यो सरकारको आयु भोलि नै नसिकएला भन्न सकिन्न ।

  • प्रकाशित मिति : पुस २५, २०७९, सोमवार ०६:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८