पुस २४, २०७९
गृह मन्त्रालयको निर्देशनसँगै धमाधम अवैध क्रसर उद्योग बन्द हुन थालेका छन् । गृह मन्त्रालयले २० पुसमा ७७ वटै प्रशासन कार्यालयलाई पत्राचा गर्दै अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । योसँगै कानुनबमोजिम दर्ता नभएका, नवीकरण नभएका तथा आयोजनाका नाममा सञ्चालनमा रहेका, तर अवधि सकिएका क्रसर बन्द हुन थालेका हुन् ।
मकवानपुरमा मात्र अवैध रुपमा चलेका १ सय २ क्रसर उद्योग बन्द गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अकिारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लामा ३२ वटा क्रसर उद्योग मात्र दर्ता छन् । गृह मन्त्रालयको निर्देशन अनुसार दर्ता विना सञ्चालनमा रहेका १ सय २ वटा क्रसर उद्योग बन्द गरिएको उनले बताए । जिल्ला समन्वय समितिका अनुसार साउन २०७८ सम्मको रिपोर्टले २६ वटा क्रसर उद्योगले बुझाउनु पर्ने सरकारी दस्तुर नबुझाएको फेला परेको थियो । ९ वटा क्रसर उद्योग बन्द भएको, दुईवटा क्रसर उद्योग उद्देश्यअनुसार सञ्चालन नभएको, कागजात नै पेस नगरेका ९ वटा र अनुगमन नै नगरिएका ११ वटा क्रसर उद्योग रहेको उल्लेख छ ।काभ्रेमा पनि २९ वटा अवैध क्रसर उद्योग बन्द गरिएको छ । जिल्ला समन्वय समितिका अनुसार नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्रीसम्बन्धी प्रक्रियाविपरीत चलेका उद्योग बन्द गरिएको हो ।
नदीजन्य तथा खानीजन्य पदार्थ उत्खननबाट विपद्जन्य घटना घटिरहेको निष्कर्षसहित प्रचलित कानुनविपरीत ढुंगा, गिट्टी, रोडा, बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न अवैधानिक क्रसर तथा खानी उद्योग बन्द गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।जिल्ला प्रशासन कार्यालय सुर्खेतले दर्ता विनाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै आयोजना विकास तथा निर्माण प्रयोजनका लागि सञ्चालित भएका तर, हाल उक्त प्रयोजनमा र आयोजना समाप्तिपछि सञ्चालनमा रहेको क्रसर उद्योग बन्द गर्न भनेको हो प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्नका लागि सूचना जारी गरिएको छ । सबै स्थानीय तह र सुरक्षा निकायलाई समेत यस्ता उद्योगको निगरानी गर्न र बन्द गराउन अनुरोध गरिएको छ।’
कपिलवस्तुमा १५ क्रसर उद्योग बन्द गरिएको छ ।
कानुनविपरीत ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्नुपर्ने उजुरी आएपछि गृहले ७७ वटै प्रशासनलाई यस्तो निर्देशन दिएको थियो ।विकास निर्माण आयोजनामा पूर्वस्वीकृत मापदण्ड र तोकिएको परिमाणभन्दा बढी ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन र दोहन हुने गरेको र आयोजना सम्पन्न भएपछि समेत निरन्तर दोहन भइरहेको जानकारी मन्त्रालयमा प्राप्त हुन आएको जनाइएको छ । वातावरण संरक्षण ऐन, २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न गृहले कदम चालेको थियो ।सरकारले साढे चार वर्ष अघि पनि अवैध क्रसर बन्द गर्ने प्रयास गरे पनि सफल भएन ।
गृह मन्त्रालयका अनुसार एक हजारभन्दा बढी संख्यामा क्रसर सञ्चालनमा छन् । तर, ती सबैजसो नै विद्यमान कानुनअनुसार दर्ता छैनन् । उद्योग विभाग, उद्योग कार्यालय, घरेलु विभाग र समिति, कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भए पनि ऐनको व्यवस्थाअनुसार दर्ता भएका छैनन् ।
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार सबै क्रसर उद्योग विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८