पुस -२३, २०७९
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबैभन्दा धेरै विकास बजेट चलाउने निकाय हो । यो मन्त्रालयसँग यो आर्थिक वर्षका लागि डेढ खर्ब रुपैयाँभन्दा बढी बजेट छ । तर उसले बजेट खर्च गर्न सकेको छैन । मन्त्रालय मातहतका धेरै आयोजना अलपत्र छन् । अहिले देशभर करिब २ हजारवटा ठेक्का रुग्ण रहेकामा आधाजसो भौतिक पूर्वाधार मन्त्रालय मातहतका हुन् । तर उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका नारायणकाजी श्रेष्ठ आफ्नो जिम्मेवारी नै बिर्सिएर सस्ता प्रचारबाजीमा उत्रिएका छन् ।पुस ११ गते उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका श्रेष्ठले कर्मचारीहरुलाई कार्यालय समयमा उपस्थित नभए हाजिर काटिदिने चेतावनी दिए । समयमा उपस्थित नहुने कर्मचारीलाई मन्त्रीले हाजिर काट्ने निर्देशन दिनै पर्दैन । कानुनतः त्यस्ता कर्मचारीको हाजिरमा गयल जनिन्छ ।
तिनै श्रेष्ठ पुस १९ गते यातायात व्यवस्था कार्यालय एकान्तकुना र ठूलो भर्याङ गए । अनुगमनका लागि उनले छानेका ती दुवै मन्त्रालय उनको प्रत्यक्ष क्षेत्राधिकारमा पर्दैनन् भन्ने पनि ख्याल नगरेको देखियो । किनभने ती कार्यालय श्रेष्ठले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालय मातहतका होइनन्, प्रदेश सरकार मातहतका हुन् । यसले उनी आफ्नो क्षेत्राधिकारभित्र पनि प्रष्ट नरहेको देखाउँछ ।श्रेष्ठले अत्यधिक गुनासो आएपछि ती कार्यालय अनुगमन गर्न पुगेको भनेका छन् । अहिले बागमती प्रदेशमा मन्त्री पनि छैनन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिएको एक साता नाघिसकेको छ । त्यसैले ती कार्यालयमा कर्मचारीलाई सेवा प्रवाहमा जिम्मेवारीबोध गराउन संघीय मन्त्री नै त्यहाँ मान्न सकिन्छ । यतिसम्म मानियो लौ ।तर अर्को त्यस्तै प्रचार हत्कण्डा हेरौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदमा तेस्रो वरीयतामा रहेका श्रेष्ठ बिहीबार काठमाडौंको सीतापाइलामा सडकको खाल्डो पुरेको हेर्न पुगे । खाल्डो पुरेको मिल्यो कि मिलेन भनेर जाँच्ने प्राविधिक उनी होइनन् । तर यस्तो खुद्रे कामको अनुमगनमा उनी आफू मात्र गएनन्, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतका अधिकारीसहित कर्मचारी र सहयोगीको लावालस्कर नै लगाए । ती सबैको समय त्यही एउटा खाल्डो हेर्नमा खर्च भयो ।
काठमाडौँ उपत्यकामा खाल्डा नभएका सडक छैनन् । अब प्रश्न उठ्छ– मन्त्री श्रेष्ठ मन्त्रालयका अधिकारीलाई लिएर यसरी कति ठाउँमा पुगेर भ्याउँछन् रु उनको काम खाल्डा पुरेको अनुगमन गर्ने होइन, तोकिएको मापदण्डमा सडक नबनाउने ठेकेदार र उनीहरुसँग मिलेमतो गर्ने कर्मचारीलाई कारबाही गर्ने हो । त्यसका लागि आवश्यक नीति बनाउने र निर्णायक पहलकदमी लिने मुख्य जिम्मेवारी उनकै हो । उनले बनाउने नीतिले नै ठेकेदारले रुग्ण पारेका ९ सयभन्दा बढी योजनाको भविष्य तय हुनेछ ।पूर्वाधारका एकपछि अर्को ठेक्का अलपत्र पारेर सरकारी लगानीमा रजाइँ गर्दै आएका ठेकेदारलाई पूर्ववर्ती सरकारले काँधै चढाएको थियो । अब तिनीहरु श्रेष्ठको काँध चढ्न आइपुग्नेछन् । तिनलाई तह लगाउने रुचि र इच्छाशक्ति श्रेष्ठले देखाउन सकेका छैनन् । गर्नुपर्ने काम छाडेर सस्तो लोकप्रियता र प्रचारका लागि अस्वाभाविक हत्कण्डामा उनी रमाइरहेका छन् ।
हुन त अहिलेको सरकारमा प्रधानमन्त्री र मन्त्रीहरूबीच नै प्रचारबाजीको अनौठो प्रतिस्पर्धा देखिएको छ । उनीहरू आफू चर्चामा आउन निर्देशनको भल बगाइरहेका छन् । अनुगमनको बाढी ल्याइरहेका छन् । नियम र कानुन एकातिर छ । कर्मचारी संयन्त्रको सोच र शैली अर्कोतिर छ । नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरू भने सार्वजनिक खपत र प्रचारमुखी अभियानमा ज्यान फालेर लागिपरेका छन् । कुनै नीतिगत, प्रणालीगत र संस्थागत पहल उनीहरूको प्राथमिकतामा छैन । जनताका व्यापक गुनासा, सरकारी संयन्त्रका खराबी अनि विकास निर्माण र सेवा प्रवाहका समस्या सम्बोधनमा सार्थक हस्तक्षेपमा पनि उनीहरुको ध्यान छैन ।अर्का उपप्रधानमन्त्री रवि लामिछाने पनि जसरी हुन्छ, चर्चा र प्रचारमा रहन चाहन्छन् । उनका कुनै पनि निर्णय र निर्देशनका पछाडि गम्भीर गृहकार्य भएको देखिँदैन । नारायणकाजी पनि आफू पछि परेझैँ गरी यही पंक्ति थपिन आइपुगेका छन् ।नीहरुका काममा कुनै पूर्वतयारी छैन । अपेक्षित नतिजाको आकलन पनि छैन । सुधारको दीर्घकालीन योजना र खाकासमेत छैन । छ त केवल प्रचारको लोभ मात्र । यो शैली सुधारको आकांक्षाभन्दा पनि उहिल्यै असफल भइसकेको आत्मकेन्द्री र प्रचारमुखी तडकभडक मात्र हो । गुदी केही छैन, बोक्रामा मात्र रमाउने यस्ता हत्कण्डाबाट जनता आजित भइसकेका छन् । त्यसैले अब सस्तो प्रचारबाजी होइन, सार्थक पहलकदमी आवश्यक छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८