पुस – १९, २०७९
अघिल्लो सत्ता समीकरण र चुनावी गठबन्धन यथावत् रहेमा नेकपा एमाले आउँदा ५ वर्ष पनि प्रतिपक्षमा बस्ने लगभत निश्चित थियो । तर बालुवाटारमा बसेर सारा देश आफ्नो मुठ्ठीमा राख्न सफल भएको भ्रममा बाँचेका केही पात्रहरुका कारण राजनीतिमा नाटकीय परिवर्तन आयो । जनादेशमा दोस्रो बनेर प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा पुगेको नेकपा एमाले सत्तारुढ बन्न पुगेको छ । सरकारको नेतृत्व तेस्रो र सानो दल माओवादीको हातमा गएको छ ।
सरकारको नेतृत्व माओवादीले गरे पनि शासन सञ्चालनको साँचो बालकोटमा रहेको छ ।कांग्रेस संघसहित प्रदेशमा समेत प्रतिपक्षी बेन्चमा बस्न बाध्य भएको छ । कांग्रेसले पाउन सक्ने सबै अवसर अब एमालेले पाउने भएको छ । एमालेले अब ३५ राजकीयसहित डेढ सय संवैधानिक पदमा आफ्ना नेता–कार्यकर्तालाई नियुक्ति दिलाउने अवसर पाउँदै छ । यो भनेको आउँदा ६(७ वर्षका लागि राज्यसत्ता ढुक्कैसँग कब्जा गरेसरह हो । माओवादीले सत्ता कब्जाको नारा मात्र लगायो । वास्तविक कब्जाको अभ्यास एमालेले गर्दै छ ।
राष्ट्रपति र सभामुख एमाले । धेरै प्रदेशका मुख्यमन्त्री पनि एमाले । अब सर्वोच्च र उच्च अदालतमा हुने न्यायाधीश नियुक्तिमा पनि एमालेकै हात माथि । झट्ट हेर्दा प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्रीमा युवा आकर्षणका केन्द्र एवं नयाँ शक्तिका ऊर्जावान् नेता रवि लामिछाने देखिन्छन् । तर उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको इशाराबिना वरको पाइलो पर सार्न नसक्ने हालतमा छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गएका डेढ वर्षमा एकपटक पनि संवैधानिक परिषदको बैठक डाक्न सकेनन् । संवैधानिक नियुक्ति उल्टाउन सकेनन् । सर्वोच्च अदालतमा एक जना प्रजातान्त्रिक विचारधाराका न्यायाधीश पनि नियुक्त गर्न सकेनन् । अब ती सबैमा वाम नियुक्तिको लहर चल्नेछ । हुन त यी पद वैचारिक आस्था वा दलगत आबद्धताका आधारमा पूर्ति हुने होइनन् । तर यहाँ यही चलन छ ।
कांग्रेसले गरेन भने एमालेले गर्छ । अब जताततै एमालेले नियुक्ति पाउनेवाला छन् । राज्यको स्रोतसाधनलाई कसरी संगठितरुपमा पार्टीकरण गर्नुपर्छ भन्ने एमालेलाई राम्रोसँग थाहा छ । यसका निम्ति सारा तारतम्य मिल्दै गएको छ । जताततै एमालेका लागि अनुकूल परिस्थिति बन्दै गएको छ । यो स्थिति आउनुमा एमाले अध्यक्षको कुशल र चतुर चाल त हुँदै हो । खास जिम्मेवारचाहिँ बालुवाटारको पहारिलो घाम तापेर आफ्नो सुविधा मात्र सोचेर बस्ने देउवा मण्डली हो । देउवाका सहयोगी एवं सल्लाहकारहरु हुन् । नामै तोकेर भन्दा प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, भानु देउवालगायत हुन् ।अब यस मण्डलीलाई पार्टीबाट निकाला गरी युवाहरुले देउवाविरुद्ध कु गर्न सक्नुपर्छ ।
गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरूङ, बद्री पाण्डे, प्रदीप पौडेलहरुले विशेष महाधिवेशनका लागि देउवासँग बिन्ती बिसाउने होइन । हारगुहार गर्ने पनि होइन । आफै पार्टीको बैठक बसी महाधिवेश बोलाई सबैभन्दा पहिला देउवालाई सभापतिबाट अपदस्थ गरी सामान्य सदस्यबाट नै निष्काशन गर्नुपर्छ । त्यसपछि उनको मण्डलीलाई कारवाही गर्नुपर्छ । पार्टीबाट निकाला गरिसकेपछि अख्तियार, सम्पत्ति शुद्धीकरण र सीआईबीमा छानबिनका लागि बुझाउनुपर्छ ।यति नगरे अब देशमा कांग्रेस पुनर्जीवित हुने छैन । लोकतन्त्रमाथिको खतरा टर्ने छैन । देश वामराज्यबाट मुक्त हुने छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८