• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पस छानिए

  • खबरदाता

विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पस छानिए

पुस १७, २०७९

 

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवर्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो ।

अनुदान आयोगले छानेको क्याम्पसमा भरतपुरको सप्तगण्डकी बहुमुखी, प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस रहेका छन् । देशभरबाट १८ क्याम्पस अनुदान आयोगले छनोट गरेको हो । देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको छ ।

यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् । छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् । तालिमका लागि प्रतिविद्यार्थी रु ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले रु १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा। कपिलदेव सुवेदीले जानकारी दिए ।

उनले भने, “पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको छ । यसका लागि क्याम्पसले विद्यावारिधि गरेका प्राध्यापक नियुक्त गरेर काम शुरु गर्नुपर्छ । यो नयाँ अवधारणा अनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमशीलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।” उनले क्याम्पसहरूले पाएको यो राम्रो अवसर भएकाले यसलाई सहीरूपमा सदुपयोग गर्नुपर्ने बताए । रासस

  • प्रकाशित मिति : पुस १७, २०७९, आइतवार ०९:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८