• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

टुकी बालेर पढाउन सुरु गरिएको नारायणी मावि देशकै उत्कृष्ट

  • खबरदाता

टुकी बालेर पढाउन सुरु गरिएको नारायणी मावि देशकै उत्कृष्ट

१५, २०७९

 

 

साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ । अध्ययनका लागि विद्यार्थीको सङ्ख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका–१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ ।

२०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् । गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३दशमलव ०५ प्रतिशत अङ्क प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो ।

हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाई स्कुल’ नाम राखी यो विद्यालय स्थापना गरिएको हो । दिनभर कामले व्यस्त उमेर छिप्पिएका युवायुवतीहरूले बेलुका ५ देखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए । उनले भने, “बिजुलीबत्तीको अभावमा लालटिन, मइन्टोल र टुकीबत्ती बालेर पढ्नुपर्ने अवस्था थियो ।”

त्यसबेला प्रौढ वा युवा अवस्थाका विद्यार्थीको पठनपाठनको नतिजा शून्य नै थियो । रात्रिकालीन समयमा सोचेजस्तो नतिजा नआएपछि २०३७ मा विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गरियो । बिहानी सत्रमा विद्यालय सञ्चालन गरे पछि विसं २०३८ मा पनि विद्यालयको प्रवेशिका परीक्षा शून्य प्रतिशत नै भयो । बिहानी सत्रबाट २०४५ सालमा बिहान १० देखि बेलुका ४ बजेसम्म पठनपाठन सुरु भयो ।

सञ्चालन शैलीमा केही परिवर्तन भएकाले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको प्रचार्य दवाडीकोे भनाइ थियो । विसं २०४९देखि यस विद्यालयलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन सामूहिक प्रयत्न र पहल भएको थियो । बिहान ९ः५० देखि बेलुका ४ः३० सम्म पढाउने, अतिरिक्त अङ्ग्रेजी÷गणित पढाउने, प्रवेश परीक्षा लिने, उत्तीर्ण अङ्क ४० गर्ने, शिक्षकलाई अध्यापनमा प्रतिबद्ध गराउने, नतिजाको विश्लेषण गरी सार्वजनिक गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायत योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठ योजना आदिको व्यवस्था गर्दै २०५७ सालमा आइपुग्दा जिल्लाकै प्रथम विद्यालयका रुपमा आउन सफल भएको तत्कालीन प्रअ टेकबहादुर थापाले बताए ।

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनले भने, “विसं २०५७ देखि हालसम्म यो विद्यालय जिल्लाको उत्कष्ट स्थानमै छ र विसं २०६८ देखि राष्ट्रिय मूल्याङ्कनमा समेत विद्यालय उत्कृष्ट हुँदै आएकोे छ ।”

२०६८ मा मध्यमाञ्चल आठौँ, विसं २०६९ मा रष्ट्रिय पाँचौँ, विसं २०७० राष्ट्रिय छैटौँ, २०७१ मा राष्ट्रिय २१औँ, २०७२ मा राष्ट्रिय दोस्रो तथा मध्यमाञ्चल प्रथम, २०७३ मा राष्ट्रिय दोस्रो तथा ३ नं प्रदेशको प्रथम र २०७४ मा राष्ट्रिय चौथोका साथै २०७५ को कक्षा १२ को परीक्षामा ३ नं प्रदेशको प्रथम हुन यो विद्यालय सफल भएको उनले जानकारी दिए ।

२०७८ को कक्षा १० को एसइई परीक्षामा सर्वाधिक जिपिए ९तीन दशमलव छ भन्दा माथि चार जिपिएसम्म० ल्याउने ९३ विद्यार्थी यसै विद्यालयका थिए भने एकजनाले चार जिपिए प्राप्त गरेको थियो ।

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डिआइटी, प्री–डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ । हाल दृष्टिविहीन र बौद्धिक अपाङ्ग गरी दुवै अपाङ्ग एकाइसमेत सञ्चालित छन् । दृष्टिविहीन ३२ र आवासीय ३४ जना बौद्धिक अपाङ्ग डे–बोडर्सका रुपमा अध्ययनरत छन् । भौतिक व्यवस्थापनमा विद्यालय सबल छ । हरियाली, फूलबारी, सरसफाइलगायतमा विद्यालयले निकै ध्यान दिइएको पाइन्छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमुना महानगरका रुपमा विकास गर्ने काममा यो विद्यालय कोसेढुङ्गा साबित भएको बताइन् । यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतका कारण विद्यालय उत्कृष्ट बनेको भन्दै उनले थप गुणस्तर विकासमा जुट्न आग्रह गरिन् ।

महानगरभित्रका अन्य विद्यालयले पनि यो विद्यालयको सिको गरेर गुणस्तर सुधारमा लाग्नुपर्ने महानगरप्रमुख दाहालको सुझाब थियो । विगत ६० वर्षमा जुन उपलब्धि प्राप्त भएको छ यसले यहाँको शैक्षिक अवस्थालाई देशभर चिनाउन सकेको चर्चा गर्दै उनले निरन्तरको मिहिनेतले नतिजा आउँछ भन्ने प्रमाण यो विद्यालयले दिएको बताइन् ।रासस

  • प्रकाशित मिति : पुस १५, २०७९, शुक्रवार १५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८