• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

‘तिम्रो मेरो साथ’को गीत चितवनबाट रिलिज

  • खबरदाता

‘तिम्रो मेरो साथ’को गीत चितवनबाट रिलिज

पुस १४, २०७९

 

मोफसल यात्रामा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । बुधबार चितवनमा एक कार्यक्रमको बीच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

’झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमाका दुई मुख्य पात्र अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक रमेश एमके पौडेलको शब्द रचना रहेको गीतमा योगेशकाजी शाहको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

चलचित्रको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निककै अपेक्षा राखेको छ ।

गीत रिलिज कार्यक्रममा चलचित्र धेरै राम्रो बनेको भन्दै सबैले हेरेर साथ दिन चलचित्रका निर्देशक रमेश एमके पौडेलले अनुरोध गरे । यस्तै, धेरै राम्रो फिल्म बनेको हुनाले हेर्नका लागि सबैसँग सन्दीप क्षेत्रीले अनुरोध गरे । उनले पत्रकारहरुलाई चलचित्रलाई मन खोलेर साथ दिन आग्रह पनि गरे।

चलचित्रका अभिनेता पुष्प खड्काले मोफसलमा गीत रिलिज गर्न पाउँदा खुशी लागेको बताउँदै राम्रो चलचित्र बनेको हुँदा सबैलाई हेर्न अनुरोध गरे। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र सुटिङ गर्दा कहिले सकियो थाहा नै नभएको भन्दै ‘तिम्रो मेरो साथ’ निकै राम्रो चलचित्र निर्माण भएको हुँदा यस्तो चलचित्रमा कम गर्न दिने निर्देशक रमेश एमके पौडेललाई धन्यवाद समेत दिइन् ।

सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसँगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायत कलाकारहरुको अभिनय छ । यही पौष २९ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

सविर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ भने सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार ०७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८