पुस ३,२०७९
आदर्श लोकतान्त्रिक व्यवस्थामा कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाबीच स्पष्ट लक्ष्मणरेखा कोरिएको हुन्छ । सीमा नाघेर एकअर्काको क्षेत्रमा हस्तक्षेप गर्न वा चासो देखाउन मिल्दैन । सैद्धान्तिकरुपमा नेपालले अपनाएको व्यवस्था पनि त्यही हो । तर यहाँ संविधान, कानुन र प्रणालीका ती सीमा कसैकसैका लागि मात्र लागू हुन्छन् । केही यस्ता शक्ति र व्यक्ति छन्, तिनका हकमा यी नियम लागू हुँदैनन् । अर्थात्, नियमहरूका बीचमा ती अपवाद हुन् । व्यवस्थाका बीचमा ती विशेष छन् । आमभन्दा ती माथि छन् ।
यस्तै एउटा पात्र हुन्, खिलराज रेग्मी । न्यायपालिका प्रमुख छँदाछँदै उनलाई २०६९ सालमा दलहरुले कार्यकारी प्रमुख बनाइदिए । अर्थात् न्यायपालिकालाई कार्यकारीमा मर्ज गरियो । तत्कालीन अन्तरिम संविधानलाई कागजको खोस्टोमा परिणत गरी राष्ट्रपति रामवरण यादवबाट जारी गराइएको २५ बुँदाका भरमा देश चलाइयो ।त्यतिखेर त्यस प्रयोगको डिजाइन र प्रयोग जुन शक्तिले जुन उद्देश्यले गराए पनि सार्वजनिक रुपमा भने माओवादीले प्रस्तावित गरेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हेटौँडा महाधिवेशन महाधिवेशनमा यो प्रस्ताव गरेका थिए । त्यसपछि हर्लक्कै बढेको चर्चाका बीच तत्कालीन प्रधानन्यायाधीश रेग्मीले प्रस्तावको खण्डन गरेनन् । न्यायपालिका र आफ्नो गैरराजनीतिक छवि धूमिल पार्न खोजेको भनेर आपत्ति प्रकट गर्न पनि सकेनन् । झन् लुसुलुसु बालुवाटारको सरकारी निवासको चोरबाटो प्रयोग गरी राजनीति नेताहरुलाई भेट्न थाले । अन्ततः उनी न्यायपालिका र कार्यपालिकाको एकसाथ प्रमुख भएर बसे ।
अहिले रेग्मीको नाम फेरि राजनीतिक बजारमा चर्चाको शिखरमा छ । अब उनैलाई राष्ट्रपति बनाउनेबारे गृहकार्य भइरहेको भनेर मूलधारका राजनीतिक दलका नेताहरु असन्तोषकै भावमा भए पनि भित्रभित्रै फुसफुसाउन थालेका छन् । तर खुलेर यसको विरोध गर्ने आँट कसैले गरेका छैनन् । अर्थात् यो विषय उनीहरु मन नपरे पनि धारण गर्न वा मौन बस्न बाध्य छन् । सार्वभौम भनिएका सांसदहरुको मुखमा पनि दही जमेको छ । उनीहरुलाई पनि कज्याउन सक्ने कुनै शक्ति पृष्ठभूमिमा छ ।
हुन त रेग्मी पहिलादेखि नै रहस्यमय पात्र हुन् । न्यायालयमा उनी रोलक्रममा पछाडि हुँदा पनि प्रधानन्यायाधीश बन्न हतारिएका थिए । अगाडिका दुई न्यायाधीशलाई उछिनेर उनलाई प्रधानन्यायाधीश बनाउने प्रयासमा माओवादी नै लागेको थियो । पछि माओवादीले नै पहिलोपल्ट उनलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्ताव गरेर रेग्मीको पार्टी पक्षधरता पुनः पुष्टि गरेको थियो ।
रेग्मी खासमा हाम्रो व्यवस्थाका अपवाद पात्र मात्र होइनन् । उनी हाम्रो व्यवस्थामा गाडिएका एक प्रकारका खिल नै हुन् । हरेक तरल राजनीतिक अवस्थामा त्यो खिल सल्बलाउँछ । संविधानसभा विघटनको आसपासमा सल्बलायो । २०७२ को संविधान जारी भएपछिको आसपासमा पनि सल्बलायो । त्यतिखेर रेग्मीले राष्ट्रपति बन्ने प्रयास गरेका थिए । अहिले फेरि नयाँ निर्वाचनले कुनै दललाई बहुमत नदिएर सरकार बन्नै हम्मे परेका बेला फेरि सल्बलाहट सुरु भएको छ ।
खिलराजको सल्बलाहट न्यायपालिकामा राजनीतिक महत्त्वाकांक्षाको सल्बलाहट हो । खिलराज २०६९ मा सिंहदरबार प्रवेश नगरेका भए गोपाल पराजुली, दीपकराज जोशी,ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणाजस्ता विवादास्पद पात्रहरुको सर्वोच्च प्रवेश हुने नै थिएन । यी चार पात्र सर्वोच्च प्रवेश नगरेका भए अहिलेजस्तो न्यायालय भताभुंग हुने थिएन । हुँदाहुँदा चोलेन्द्रले त कार्यकारी शक्तिमा भाग मात्र लिएनन्, आफै कार्यकारी बन्ने सपना बुन्न थालिसकेका थिए ।
एकातिर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्न उक्साउने र संवैधानिक नियुक्तिमा भाग लिने, अर्कोतिर तिनै ओलीलाई डेग पनि चल्न नसक्ने गरी आदेश जारी गर्ने चोलेन्द्रको निहित उद्देश्य थियो कि मुलुकमा संवैधानिक र राजनीतिक रिक्तता सिर्जना गरी आफ्नो महत्ता स्थापित गर्ने । भलै बदनाम छविका कारण उनका पक्षमा माहोल बनेन । राजनीतिक शक्ति समीकरण पनि बेग्लै बन्यो । अन्तर्राष्ट्रिय परिस्थिति पनि फरक थियो ।
यहाँ चोलेन्द्रको सपना पूरा नभए पनि न्यायालयका हरेक श्रीमानलाई अहिले खिलराज बन्ने भोक जागिसकेको छ । अहिले जागिसकेको छैन भने पनि भोलि अवश्य जाग्नेछ । किनभने महत्त्वांक्षाको बीउ खिलराजका पालामा रोपियो । थोरबहुत त विश्वनाथ उपाध्यायका पालामा पनि रोपिएको थियो । तर उनले कार्यकारी पद ताक्ने मौका पाएनन् । खिलराजको अहिलेको सल्बलाहटले सुषुप्त महत्त्वाकांक्षाहरु पनि सल्बलाएका छन् । अहिले नसल्बलाए भोलि सल्बलाउनेछन् । त्यसैले खिलराजको खिल अहिले नै झिकेर नफाल्ने हो भने दीर्घकालसम्म पिरोलिरहनेछ हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई । ग्रहण लागिरहनेछ हाम्रो संवैधानिक व्यवस्थामाथि । चेतना भया ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८