कात्तिक १४,२०७९
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्।
प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो।
सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।
काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८