• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

काङ्ग्रेस जोगाउने हो भने कोइरालाले पार्टी फुटाउनै पर्छ !

  • खबरदाता

काङ्ग्रेस जोगाउने हो भने  कोइरालाले पार्टी फुटाउनै पर्छ !

असोज १५, २०७९

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हालेयता राष्ट्रिय राजनीतिमा उनको भूमिका हेर्ने हो भने आफ्नै पार्टीलाई ध्वस्त पार्न कतैबाट खटिएका वफादार भिजिलान्तेजस्ता देखिन्छन् । अनेक हिसाबकिताब मिलाएर सग्लो कांग्रेसको दोस्रोपल्ट सभापतिमा निर्वाचित भए पनि देउवाले एकपछि अर्को गरी आफ्नै पार्टीलाई घात गरेका छन् । सैद्धान्तिक रुपमा गिराएका छन् । राज्यका संस्थाहरुलाई ध्वस्त पारेका छन् । कुशासनको यमलोक खडा गरेका छन् । आफ्ना वरिपरि उस्तै विवादित व्यक्तिहरुको भेला पारी बालुवाटारलाई नै दूषित गतिविधिको अखडा बनाएका छन् ।

देउवाका अहिले सबैभन्दा नजिकका सल्लाहकार एवं विश्वासपात्र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हुन् । तिनै दुईजनाको राजनीतिक टिकाइदिन देउवा अहिले कांग्रेसका रुखका हाँगाबिँगा ताछ्न लागिपरहेका छन् । आफ्नै दलभित्रको ठूलो पंक्तिलाई पेलेर प्रचण्ड र माधव नेपाललाई रिझाउन देउवा सम्पूर्ण शक्तिका साथ लागिपरहेका छन् । खै कुन कारण वा बाध्यताले हो, अहिले देउवाको हालत यस्तो देखिँदै छ कि उनी आफ्नो सिंगै पार्टीलाई पनि प्रचण्डका पाउमा चढाउन पनि पछि नपर्ने अवस्थामा पुगेका छन् ।

देउवाले गठबन्धनमा भागबण्डा गर्दा संसदमा सरकार बनाउन आवश्यक बहुमत आफूसँग राखेर बाँकी अन्य पार्टीलाई सिट छाड्ने गरी चुनावमा तालेमेल गर्ने निर्णय गरेका छन् । भागबन्डाका क्रममा कांग्रेसको भागमा ८५ सिट पारिएको छ । १६५ मध्ये आधा सिट आफूसँग राखेर बाँकी अन्य दललाई छाड्ने भएका छन् । अर्थात् देशकै पुरानो र कुनै बेला पहिलो ठूलो दल भएको कांग्रेस आधाजसो भूभागमा उम्मेदवार नै उठाउने छैन । अझ भन्दा आधाजसो मुलुकमा कांग्रेसीजनले रुखमा भोट हाल्नुपर्ने छैन । अरु नै पार्टीलाई भोट दिएर कांग्रेसले जिताइदिनुपर्नेछ ।

१६५ सिटमा नेपाली कांग्रेसले जम्मा चुनाव लड्ने संख्या ८५ हुँदा त्यसको ७५ प्रतिशतमा जित हासिल गर्‍यो भने पनि प्रत्यक्षतर्फ निर्वाचित हुने सदस्य संख्या जम्मा ६४ हुनेछ । स्थानीय चुनावको नतिजाको आधारमा कांग्रेसले समानुपातिकतिर प्राप्त गर्ने सदस्य संख्या ४० देखिन्छ । यो दुवै जोड्दा प्रतिनिधि सभामा जम्मा कांग्रेस सांसदको संख्या १०४ पुग्छ । २७५ सदस्य हुने प्रतिनिधि सभामा सरकार बनाउन १३८ सांसदको खाँचो पर्छ । अर्थात् कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त हुन्छ ।त्यस अवस्थामा संसदमा कांग्रेसबाहेकका दलहरुको सदस्य संख्या १७१ हुनेछ । जसमध्ये राप्रपा, स्वतन्त्र र लोसपाबाट निर्वाचित हुने सांसद १६ देखि २० छुट्टाउने हो भने बाँकी १५१ देखि १५५ सदस्य वामपन्थी हुनेछन् । त्यतिखेर सत्ताका निर्णायक प्रचण्ड हुनेछन् । देउवाले आफूलाई प्रधानमन्त्री नबनाए सिधै ओलीकहाँ जानेछन् र वाम गठबन्धनको सरकार बनाउनेछन् । यसमा उत्तरतिरको शक्तिले पनि मलजल गर्नेछ ।

केही समय प्रचण्डले देउवालाई नै सत्ता छाडिदिए पनि वामपन्थी एकताको त्रासले कांग्रेसको ५ वर्षसम्मै निद्रा खल्बलिनेछ । संसदका दलहरुमा २०५१ पछिको अवस्थामाजस्तै मुसा प्रवृत्ति हावी हुनेछ । न देउवाले चाहेजस्तो कांग्रेसको एकल बहुमत हुनेछ न त देशले चाहेको स्थायित्व र लोकतान्त्रिक शान्ति नै कायम हुनेछ ।अर्कोतिर कांग्रेसबाट को प्रधानमन्त्री हुने भन्ने पनि ठेगान छैन । अझ भन्दा कांग्रेसकै प्रधानमन्त्री हुन्छ भन्नेमा नेता–कार्यकर्ताको आत्मविश्वास छैन । स्वयं कांग्रेसमै पनि देउवालाई प्रधानमन्त्री घोषणा गरेर जनताले मत दिनेछन् भन्ने विश्वास छैन । त्यसैले चुनावमा गोलमटोल कुरा गरेर जाने र लोकप्रिय मत नआउने भएकाले गणितीय समीकरण मिलाएर केही सिट सुरक्षित गर्ने नीति कांग्रेसले लिएको देखिन्छ । यसले कांग्रेसलाई झनझन् खुम्च्याउँदै लैजानेछ भन्नेचाहिँ ख्यालै गरिएको छैन ।

गगन थापाहरूलाई कृष्णप्रसाद भट्टराईको नियति बनाउने कोसिस कांग्रेसभित्रैबाट हुनेछ । गगनकै कुरा गर्दा उनको निर्वाचन क्षेत्रमा उनीप्रति जनभावना पटक्कै सकारात्मक देखिँदैन । खासगरी कपन–बूढानीलकण्ठका बासिन्दामा गगनको चरित्रप्रति पर्याप्त असन्तोष र आक्रोश छ । जब गगन नै आफ्नो क्षेत्रमा सुरक्षित छैनन् भने अरु नेताको मनोबल चुनावको सामना गर्ने अवस्थामै छैन । गगनले आफ्नै सरकारका कारण चुनावमा जनतासामु मुख देखाउनै लाज भएको र आफू लुकीलुकी हिँड्नुपरेको शुक्रबार एक सार्वजनिक कार्यक्रममै बताएर विवशता पोखिसकेका छन् । अर्थात् गगनसमेत यो चुनावमा पूरै रक्षात्मक मनोदसाका साथ मैदानमा उत्रिँदै छन् ।

कांग्रेससँग जनआकर्षण पैदा गर्ने गतिलो नेता त छैन नै, निर्वाचनमा लैजाने कुनै जल्दोबल्दो र पेचिलो मुद्दा पनि छैन । उसले औचित्य सावित गर्न नसकेको गठबन्धनको घोडा चढेर चुनाव जित्ने जुन सपना देखेको छ, त्यो मनको लड्डुबाहेक केही होइन ।

अहिले कांग्रेस र गठबन्धनवालाको एक मात्र एजेन्डा केपी ओली भएका छन् । एकातिर आफू ओलीको प्रतिगमन भन्दै हिँडेका छन्, अर्कोतिर हिजो ओलीका पालामा जेजे कुराको विरोध गरिएको थियो तिनै क्रियाकलाप दोहोर्‍याउँदै ओलीका कदमलाई बिर्साउने काम भइरहेको छ । बरु देउवा सरकारका क्रियाकलापले ओलीलाई झन् लोकप्रिय बनाएको छ । ओझेल पर्नुपर्ने ओलीलाई गठबन्धनवालाले नै प्रकाशमा ल्याइदिएर पुनः ब्रान्डिङको काम भइरहेको छ ।

चुनावको मुखमा एक ढिक्का भएर जनतामा जानुपर्ने बेला कांग्रेस केन्द्रीय कार्यालयमा देउवाविरुद्ध मुर्दावादका नारा लागेका छन् । शेखर कोइराला र गगन थापा नै विद्रोहको धम्की दिइरहेका छन् । ठूला नेताहरु चुनावसँग डराएर समानुपातिकको सुरक्षित सूचीमा बसेका छन् । न आसलाग्दो नेतृत्व, न गतिलो एजेन्डा अनि रुखमा भोट हाल्न पनि नपाउने भएपछि कार्यकर्ताहरू अहिले किन गाउँ जाने भनेर प्रश्न गरिरहेका छन् । अझ लोकतान्त्रिक विचार राख्ने युवा जति स्वतन्त्र उम्मेदवार बन्ने लक्ष्यमा हिँडेका छन् भने देउवा बड्डालाई सराप्दै गड्डाचौकी नाका तर्ने र कांग्रेसलाई सराप्दै कतारतिर भविष्य खोज्न हिँडेका युवासँगै भइरहेको क्षतिको त कुनै आलन छैन । कांग्रेसका शुभचिन्तक बुद्धिजीवीहरुलाई कांग्रेस हौँ भन्न लाज लाग्ने अवस्था बनेको छ । कांग्रेसनिकट एक वैज्ञानिक हेमराज शर्माले बेलायतबाटै लेखेका छन्– भेलु बाजेदेखि रवीन्द्र मिश्रले समेत कांग्रेसको खिसिटिउरी गर्ने दिन आएका छन् । अनि कसरी बनाउँछ कांग्रेसले चुनावमा माहोल रु संख्यामा पहिल्यै हारिसकेर, आत्मविश्वास गुमाएर लड्ने चुनावले कसरी बहुमत दिन्छ?

यो सब किन भइरहेको छ भने करिब एक दर्जन जति बूढा नेताले चुनाव जित्ने र केही नेताहरु मन्त्री बन्ने लोभमा कांग्रेसलाई माटोमा मिलाउँदै छन् । यदि कांग्रेसलाई जोगाउने हो देशभरका कांग्रेसीले रुखमा भोट हाल्न पाउने अवस्था बन्नुपर्छ । यसका लागि शेखर कोइरालाले समानान्तर उम्मेदवारी दिन सक्नुपर्छ । गठबन्धनको अवज्ञा गर्नैपर्छ । माधव नेपाल र प्रचण्डको स्वार्थको मलामी कम्तीमा कांग्रेसको युवा पुस्तालाई बन्न दिनुहुँदैन । यसका लागि शेखरले पार्टी नै फुटाउनुपरे पनि पछि हट्नुहुँदैन । माधव नेपालको कुण्ठा र प्रचण्डको रक्त रञ्जित इतिहासको भारी कांग्रेसले बोक्न सक्दैन भनेर खुलारुपमा भन्न सक्नुपर्छ ।

  • प्रकाशित मिति : असोज १५, २०७९, शनिवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८