• मंसिर २२, २०७९, बिहीवार Thursday, 08 December, 2022
centreal college

प्रधानमन्त्री देउवा बालुवाटारभित्रै नजरबन्दमा !

  • खबरदाता

प्रधानमन्त्री देउवा बालुवाटारभित्रै नजरबन्दमा !

असोज  १४, २०७९

समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको उम्मेदवारको बन्द सूचीका त्रुटि सच्याउन भोलि असोज १६ सम्मको समयसीमा छ । यही कारण दलहरु समानुपातिकतर्फका विवाद टुंग्याउने अन्तिम गृहकार्यमा छन् । साथै प्रत्यक्षतर्फका उम्मेदवार छनोटका लागि पनि दलहरुमा उस्तै चटारो छ ।

नेकपा एमालेको नेतृत्व समानुपातिकको सूचीमा पार्टीका विभिन्न तहमा देखिएको असन्तुष्टि सम्बोधन गर्दै परिष्कृत सूची निर्वाचन आयोगमा बुझाउन तयार पारेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले बिहीबार राति अबेरसम्म बसेर सूचीलाई अन्तिम रुप दिएको हो । प्रत्यक्षतर्फको सूची पनि दसैँलगत्त असोज २० वा २१ गते बसेस टुंग्याउने निर्णय एमालेले गरेको छ । त्यसअघि अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले गृहकार्य गर्नेछन् ।

अहिले उम्मेदवारी टुंग्याउन सबैभन्दा ठूलो महाभारत सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसलाई भएको छ । कांग्रेस नेतृत्व यतिखेर एकातिर गठबन्धनका घटकहरुलाई मनाएर प्रत्यक्षतर्फ आफूले पाएका सिटमा उम्मेदवार तय गर्नुपर्ने र पार्टीभित्रैको असन्तुष्ट खेमालाई पनि विश्वासमा लिनुपर्ने दोहोरो चेपुवामा छ । यहीबेलामा असन्तुष्ट समूहले समानान्तर भेला र सार्वजनिक प्रदर्शन चर्काएपछि सभापति शेरबहादुर देउवालाई ठूलै टाउको दुखाइ भएको छ ।

निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक भएपछि कांग्रेसमा पछिल्लो विवाद सुरु भएको थियो । १४ औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला समूहले पार्टीका हरेक निकायमा ४० प्रतिशत भाग दाबी गरे पनि बन्द सूचीमा केवल १० प्रतिशत उम्मेदवार मात्र आफ्नो पक्षलाई समेटेको आरोप लगाउँदै विरोध चर्काइरहेको छ । बन्द सूची सच्याउन दबाद दिँदै पार्टी मुख्यालयमा धर्नादेखि विभिन्न ठाउँमा दिनहुँजसो भेला र बैठक गर्दै आएको छ । बन्द सुची नसच्याए मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पक्षका कुनै पनि नेता–कार्यकर्ता निर्वाचनमा प्रतिस्पर्धा नगर्नेसम्मका चेतावनी कोइराला समूहले नेतृत्वलाई दिएको छ ।

सत्ता गठबन्धनसँग तालमेल गर्दै मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको कांग्रेसमा आन्तरिक किचलो बढ्दै गएपछि गठबन्धन नै असफल पार्नेसम्मको चेतावनी इतरपक्षका नेता तथा कार्यकर्ताले दिएका छन् । शेखर कोइराला मात्र नभई पार्टी महामन्त्री गगन थापासम्मैका असन्तुष्टिले परिस्थिति सम्हाल्नै नसक्ने दिशातिर अगाडि बढ्ने भयले यतिखेर सभापति शेरबहादुर देउवामा देखिएको छ । गठबन्धन घटकबीच तालमेल नगरे आफै पनि डडेल्धुराबाट नजित्ने डर छ भने गठबन्धन गरिहाले आफैभित्रको प्रतिपक्षदेखि माओवादी र अन्य दललाई फकाउन मुस्किल हुँदै गएको छ । चुनावको मुखमा एक ढिक्का भएर मैदानमा उत्रिनुपर्ने बेला आन्तरिक कचिंगल उग्र हुँदै गएपछि देउवालाई गठबन्धन निल्नु न ओकल्नु भएको छ ।

सुरुमा देउवाले आफ्ना वरिपरि भेला भएका केही व्यक्तिको भर परे । तिनले आफू मात्र होइन, श्रीमतीदेखि अन्य नातेदार र कांग्रेसले चिन्दै नचिनेका व्यापारी तथा ठेकेदार र गुण्डाहरुका नामसमेत समानुपातिक सूचीमा घुसाउन भ्याए । शेखर कोइराला र गगन थापा पक्षका मुस्किलले १० प्रतिशत नाम अटाएका छन् । जब असन्तुष्ट पक्षले पार्टी मुख्यालयमै धर्ना र नाराबाजी गरेका दृश्यले देउवाले देखे र गठबन्धनको अवज्ञा गरी समानान्तर उम्मेदवारी दिने धम्कीका स्वरहरु सुने, तब पो देउवा झल्याँस्स बिउँझिए ।

अहिले आएर देउवा अन्तिम घडीमा असन्तुष्ट पक्षको चासो कसरी सम्बोधन गर्ने भनेर छलफलमा जुटेका छन् । बिहीबार दिनभर कांग्रेस संसदीय समितिको बैठक राखेका थिए । तर बन्दसूची सच्याउन भनेर राखिएको बैठकमा समितिका सदस्यबाहेक कांग्रेसका अरु केन्द्रीय सदस्य र नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार प्रवेशमा रोक लगाइयो । देउवालाई दिँसै घेराबन्दीमा पारियो । असन्तुष्ट समूहका नेतासँग त उनलाई वार्ता गर्नै दिइएको छैन ।

यसै पनि देउवाको शारीरिक ऊर्जा र स्मरण शक्ति क्षीण हुँदै गएको छ । सामुन्नेमा बसेर बोलेका व्यक्तिको कुरा सुन्न र बुझ्न उनलाई कठिन हुँदै गएको छ । आफैसँग बोलिरहेको व्यक्तिसँग एउटै कुरा १० पटक सोध्न थालेका छन् । उनको नाम लिएर बालुवाटार बस्ने अनेकथरी मान्छेहरु सरकारका कर्मचारी, अड्डा–अदालत, सुरक्षा निकाय, केही संवैधानिक अंग, ठेकेदार र व्यापारीहरूका काम पट्याउन थालेका छन् ।

पार्टीका हरेक तहमा जवाफ दिनुपर्ने समानुपातिकका उम्मेदवारको सूचीमा समेत उनीहरूले त्यस्तै अनधिकृत र स्वार्थ समूहका प्रतिनिधि घुसाउन सफल भए भने राज्यका अन्य संयन्त्र र व्यापारीका गोप्यतवरले गरिने काममा कसरी चलखेल गरिरहेका होलान् रु सहजै अनुमान गर्न सकिन्छ । एक हिसाबले देउवालाई नजरबन्दमा राखेर उनको पदलोलुपता र शारीरिक दुर्बलताको लाभ अदृश्य गिरोहले उठाइरहेको छ ।

यसरी लाभ उठाउने पहिलो र मुख्य व्यक्ति पुष्पकमल दाहाल र माधव नेपाल हुन् । कांग्रेसभित्र असह्य किचलो भइरहँदा माओवादी अध्यक्ष दाहालको सचिवालयले बिहीबार राति पनि गठबन्धनमा कुरा मिलिसकेकोले माओवादीले उत्सव मनाउनुपर्ने सूचना जारी गरेको छ । माधव नेपालले आफ्नो हैसियतभन्दा बढीलाई मन्त्री बनाउन भ्याएका छन् । बालकृष्ण खाँण, पूर्णबहादुर खण्डा, भानु देउवा, केशव जोशी, खम्मबहादुर खातीलगायतले कार्यपालिका र न्यायपालिकालाई काबुमा राखेर आफ्ना निजी स्वार्थको दाइँ लगाइरहेका छन् । चुनाव खर्चका नाममा व्यापारीहरुबाट अर्थ संकलनको जिम्मा भने व्यापारी राज्यमन्त्री उमेश श्रेष्ठले लिएका छन् ।

उनले अहिले हरेक क्षेत्रका व्यापारीले कांग्रेस र यसका सभापति देउवालाई जिताउनैपर्ने भन्दै रकमको सिलिङ नै तोकेर चन्दा मागिरहेका छन् । यी सबै क्रियाकलापबाट बदनामीचाहिँ पार्टी र सभापति देउवाको भइरहेको छ ।तर यति कुरा थाहा भएर पनि प्रधानमन्त्रीपत्नी एवं मनोविज्ञानविद् आरजु राणा देउवा किन मौन छन् भन्ने अर्को शंशयको विषय छ । जबकि राणा प्रधानमन्त्री जुद्धशमशेरकी नातिनी आरजुका निम्ति नपुग्दो केही छैन । राजनीतिक घरानाकै सन्तान भएकाले उनले शासन सत्ताका अनेक पहेलीमा नबुझेको पनि केही छैन । तैपनि स्वार्थप्रेरित व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई गरेको घेराबन्दी उनले किन तोड्न सकिरहेकी छैनन् रु के देउवा पत्नी आरजुको पकडबाट पनि बाहिर गइसकेका हुन् ?

  • प्रकाशित मिति : असोज १४, २०७९, शुक्रवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८