भदौ १८,२०७९
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अदालत फर्किने भय गठबन्धन सरकार प्रतिनिधि सभाकै कार्यकाल लम्ब्याउन लागिपरहेको छ । यसका लागि उसले विधेयक नै संसद सचिवालयमा पुर्याएको छ ।महाभियोग सिफारिस समितिमा राणा गठबन्धनका नेता र अदालतका सहकर्मी न्यायाधीशहरूको पोल खोल्न थालेपछि परमादेशबाट बनेको सरकार थर्कमान भएको छ । राणाले एकपछि अर्को पोल खोल्न थालेपछि बिहीबार २ घण्टा मात्र बयान लिएर ३ दिनपछि बैठक बोलाइएको छ । आइतबार पनि बयानको क्रम स्वाभाविकरुपमा जोडिनेमा आशंका नै छ ।
राणाविरुद्धको महाभियोग सिफारिस सत्ता गठबन्धनको शक्तिले मात्र पारित हुन सक्दैन । त्यसैले सत्तापक्षले बयानकै क्रम अनिश्चितकालीन रुपमा लम्ब्याइराख्ने र चुनाव नसकिएसम्म प्रतिनिधि सभाको कार्यकाल पनि नसकिने उपाय खोजेको देखिन्छ । किनभने प्रतिनिधि सभाको कार्यकाल सकिएमा त्यहाँ विचाराधीन सबै विधेयक र प्रस्तावहरु पनि निष्क्रिय हुन्छन् । यसो भएमा राणा फेरि अदालत फर्किनेछन् । उनी अदालत फर्किएमा गठबन्धनका धेरै नेताका भ्रष्टाचार र अरु प्रकरणका मुद्दाको फैसला हुन सक्ने भय देखिन्छ । माधव नेपालको पार्टी पनि खारेज हुन सक्ने फैसलाको डरले आफूमाथि महाभियोग लगाइएको राणाले नेताहरुकै अगाडि खुलासा गरिदिएका छन् । त्यसैले राणालाई अदालत आउने बाटो बन्द गर्न र निलम्बित अवस्थामै घर पठाउन सत्ता गठबन्धनले कानुनै ल्याएर प्रतिनिधि सभाको मिति तोक्ने बाटो लिएको देखिन्छ ।
संविधानमा प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक ५ वर्षको हुने भनिएको छ। तर त्यो ५ वर्ष कहिलेलाई मान्ने भन्ने कतै उल्लेख छैन । यही अस्पष्टता हटाउने नाममा सरकारले विधेयक नै ल्याएर निर्वाचन भएपछिको नयाँ संसदले काम नथालेसम्म पुरानै प्रतिनिधि सभा र प्रदेश सभा कायम रहने व्यवस्था गर्दै छ । यसका लागि केही ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।
विधेयकमा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल नयाँ संसदको पहिलो बैठक बसेको दिनसम्म हुने भनिएको छ । विधेयक यस्तै पारित हुने हो भने मंसिर ४ को निर्वाचनबाट आउने सांसदले सपथ लिएर पहिलो बैठक बस्ने दिनसम्म अहिलेकै प्रदेश सभा र प्रतिनिधि सभाले काम गर्नेछन् । तर एकातिर निर्वाचनको मिति घोषणा भएर उम्मेदवार सिफारिसको क्रम सुरु भइसकेको र अर्कातिर सांसदहरु नै मैदानमा उत्रिसकेको अवस्थामा कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकमा धेरैले प्रश्न उठाइरहेका छन् । निर्वाचन घोषणा गरिसकेपछि अहिले नै संसदको क्रियाशीलतामा प्रश्न उठिहरेका बेला कार्यकाल लम्ब्याउने गरी कानून ल्याउँदा निर्वाचनमै असर गर्ने कतिपयको बुझाइ छ ।संविधानमा प्रतिनिधि सभाका हकमा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र र प्रदेश सभाका हकमा २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने भनिएको छ। यसरी हेर्दा निर्वाचन सकिएको धेरैपछिसम्म पनि बहालवाला संसद रहिरहने र चुनावमा नजाने सांसदले तलबभत्ता खाइरहने अवस्था बन्नेछ ।
समानुपातिक होस् या प्रत्यक्ष, जुनै प्रणालीबाट भए पनि निर्वाचनमा उम्मेदवार हुने व्यक्ति मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने आचारसंहिता छ । यसो हुँदा सभामुख, उपसभामुखलगायत धेरै सांसद पदबाट हटिसक्नुपर्नेछ । अझ निर्वाचनका दौरान संसदले गर्ने काम पनि केही हुने छैन । त्यसैले आउँदो चुनावपछिका केही महिना बचेखुचेका सांसदलाई तलब मात्र खुवाउन किन संसद चाहिएको हो रु यस प्रश्नको जवाफ स्वयं सरकारसँग पनि छैन ।
संसदीय प्रणालीको र विगतको परम्परा मान्ने हो भने निर्वाचनको मिति घोषणा भएलगत्तै प्रतिनिधिसभा निष्क्रिय हुनुपर्थ्यो । तर संविधानमा स्पष्ट व्यवस्था नहुँदा सरकारले ऐनमार्फत् कार्यकाल थप्ने प्रस्ताव गरेको छ । चुनाव घोषणापछि प्रतिनिधिसभाको कामकार्वाही निरन्तर रहनुपर्छ भन्ने सत्ता गठबन्धनको तर्कमा प्रतिपक्षी एमालेले पनि मौन समर्थन गरेकाले कार्यकाल लम्ब्निने निश्चितजस्तै देखिएको छ ।
प्रस्तावित विधेयकअनुसार मंसिर ४ को निर्वाचन सम्पन्न भएको धेरै समयपछि पनि हालका सांसदको कार्यकाल रहिरहने र निर्वाचनमा उम्मेदवारी नदिने सांसदले तलबभत्ता पाइरहने कुरा व्यवहारतः पनि अमिल्दो छ । किनभने अहिले नै पनि सदन चालु रहे पनि गणपूरक संख्या पुर्याउनै मुस्किल भइरहेको छ । अर्थात् सांसदहरुको काम र ध्यान संसदमा केन्द्रित छँदै छैन । अहिले नै काम नगरिरहेका सांसदलाई भोलि त झन् कामै हुने छैन । जब कामै हुन्न भने बिनाकामका संस्था र पद जनताले तिरेको कर सिध्याउन मात्र किन राखिरहने भन्ने अर्को सवाल छ ।
संसदीय परम्परा वा संविधानको मर्म कतैबाट पनि यस विधेयकको औचित्य देखिँदैन । सरकारले संसदको आयु तोक्ने कुरा त झन् हास्यास्पद छँदै छ । किनभने संसद र सांसदको कार्यकाल संविधानले तोक्छ । कारण, यो संवैधानिक कानुनको विषय हो । यसमा एक कदम अगाडि बढेर ऐनबाट संसदको कार्यकाल तोक्न खोज्नु कुनै पनि कोणबाट स्वाभाविक भन्न मिल्ने देखिँदैन । एकजना चोलेन्द्रसँग डराएर राज्यको सिंगो प्रणालीलाई नै गलत बाटोतिर सोझ्याउन खोज्नु झन् कहाँसम्मको नासमझपन हो ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८