भदौ १७, २०७९
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बिहीबार पनि बयान लियो । बुधबार ३ घण्टा बयान लिएको समितिले बिहीबार भने दुई घण्टामै रोक्यो । समिति सदस्यहरु आफ्नो व्यक्तिगत कारण देखाउँदै बैठकबाट भटाभट निस्किन खोजे । बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानन्यायाधीश राणा मात्र समयमा पुगेका थिए । सांसदहरु ढिला गरी आएकाले बैठक पनि ढिलै सुरु भयो ।
बैठक करिब २ घण्टा मात्र चल्यो । राणा आक्रामक बन्दै थिए । साढे १ बजे एकाएक बैठक रोकियो । पहिलो दिन चार प्रश्नको सामना गरेका राणाले दोस्रो दिन २ प्रश्नको मात्र जवाफ दिन भ्याए ।समितिले तय गरेका प्रश्नको पाँचौ र छैटौं नम्बरमा न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको र न्याय सम्पादन गर्दा लोभलालचमा परेकोलगायत विषय थिए । तर राणा आफूमाथिका आरोपको खण्डन वा सफाइमा केन्द्रित भएनन् । उनले प्रतिनिधि सभा नियमावलीको सन्दर्भ उठाएर महाभियोग प्रस्तावकै वैधानिकता समाप्त भइसकेको तर्क गरे ।
त्यसपछि राणाले समितिकै निष्पक्षतामा प्रश्न उठाए । महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसद नै छानबिन समितिमा बस्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको उनको तर्क थियो । जसले आफूविरुद्ध महाभियोग ल्यायो, तिनै व्यक्ति कसरी छानबिन गर्छन् र बयान लिन्छन् भन्ने उनको प्रश्न थियो ।बयान दिंदै गर्दा उनले न्यायालय भताभुङ्ग भयो भन्ने प्रश्नमा आधार नै नदेखिएको टिप्पणी गरे । यस्ता अर्थहीन प्रश्नमा संसद र समितिको समय खर्च गरेको भन्दै उनले सांसदहरूको कार्यक्षमताको पनि उल्लीबिल्ली पारे ।
ललिता निवास जग्गा प्रकरण र माधव नेपालको दलको हैसियतबारे निर्णय गर्नै लाग्दा गठबन्धनको इशारामा न्यायाधीशहरूले आफूलाई कामबाट वञ्चित गरेको पनि उनले खुलासा गरिदिए । माधव नेपाल र बाबुराम भट्टराईको राजनीतिक भविष्य जोडिएको मुद्दा अदालतले फैसला गर्ने भएपछि पहिला नै भयातुर भएर रोक्नुपर्ने कारण के थियो भन्ने राणाको आशय थियो ।
राणाको बयान विषयकेन्द्रित भएको छैन । प्राविधिक र प्रक्रियागत प्रश्न उठाएर महाभियोगलाई कमजोर देखाइरहेका छन् । समितिले ४३ प्रश्न बनाए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र बयान लिने काम सकियो । उनको अर्को बयान अब आइतबार मात्र हुने भनिएको छ । तर अब अर्को बयान हुन्छ कि हुँदैन वा भए पनि कुन रुपमा हुन्छ भन्ने यकिन छैन ।
समितिले ३ महिना समय पाउने भएकाले यसैगरी समय कटाउने रणनीति अपनाइएको हुन सक्ने प्रबल सम्भावना देखिँदै छ । राणाले सत्ता गठबन्धन दलका नेतादेखि अदालतका न्यायाधीशहरुसम्मैको धोती खुस्काउने गरी सारा कुरा खुलासा गर्न थालेपछि धेरैको मुटु हल्लिएको छ । सांसदहरुमा राणाको प्रस्तुतिको सामना गर्ने धैर्य पनि गुमेको देखिँदै छ । अधैर्य सांसदहरु अनेक बहाना निकालेर बयानकै बीचबाट निस्किएर हिँडेपछि एकाएक बयान रोकेर तीन दिन पर सार्नुपरेको छ । यसले अब राणामाथि छानबिन र कारबाही हुने सम्भावनालाई अझै क्षीण बनाएको छ ।
बरु उनलाई निलम्बित अवस्थामै घर पठाउने कोसिस हुन थालेको छ । यसैका निम्ति सरकारले कानुनै ल्याएर अर्को संसदले काम नगरेसम्म प्रतिनिधि सभा कायम राख्ने कोसिस गरेको छ । प्रतिनिधि सभाको कार्यकालसम्बन्धी विधेयक तर्जुमा गरी मन्त्रिपरिषदको विधेयक समितिमा पुर्याइएको छ । नभए असोज पहिलो साता नै प्रतिनिधि सभा भंग हुने र राणा अदालत फर्किने सम्भावना हुन्थ्यो । उनी अदालत फर्किए सत्ता गठबन्धनलगायत अरु धेरै शक्तिकेन्द्रको निदहराम हुनेछ । त्यसकारण राणामाथि कारबाही गर्ने हुती नभएकाहरु अरु नै खेलकुद गरेर उनलाई अदालत फर्किनबाट रोक्न लागिपरहेको देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८