• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संसदीय सुनुवाइजस्तो कर्मकाण्डी नहोस् महाभियोग

  • खबरदाता

संसदीय सुनुवाइजस्तो कर्मकाण्डी नहोस् महाभियोग

भदौ १५, २०७९

 

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आज बयान लिँदै छ । समितिले बयानअघि राणाका विषयमा थप प्रमाण र जानकारी संकलन गरेको छ ।समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट राणालाई दोषी देखाइएका कागजात प्राप्त भएका छन् । यससम्बन्धी विवरण सदस्यहरुलाई वितरण गरिएको छ । राणाविरुद्ध सत्तामा भाग खोजेको, बिचौलियाको प्रभावमा मुद्दामा चलखेल गरेको, आफ्नै परिवारका सदस्यदेखि न्यायाधीश र कर्मचारीको गिरोह नै खडा गरी भ्रष्टाचारमा लिप्त भएकोलगायत आरोप छन् ।

राणा समितिमा गएर बयान दिएमा यसरी गम्भीर आरोपसहित संसदीय कठघरामा उभिने राणा इतिहासकै पहिलो प्रधानन्यायाधीश हुनेछन् । प्रधानन्यायाधीश मात्र होइन, अहिलेसम्म कुनै पनि संवैधानिक पदाधिकारी यसरी महाभियोग सामना गरेर संसदीय समितिसमक्ष बयान दिन गएका छैनन् । यस्तो आरोप लागेपछि बरु आफै पद त्यागेका छन् ।संसदमा गत फागुन १ गते २१ वटा आरोपसहित राणाविरुद्ध सत्तापक्षका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । ६ महिना सदनमै अलपत्र पारिएको महाभियोगमा अहिले समितिले हतारहतार प्रक्रिया पुर्‍याएर सदनमा पठाउने तयारी गरेको छ । त्यसैले तथ्यमा प्रवेश गरेर गम्भीर छानबिन हुने र एउटा न्यायिक प्रक्रियाका सबै अंगउपांग पुर्‍याउने सम्भावना न्यून छ । छानबिनका नाममा एक थान राजनीतिक प्रतिवेदन सदनमा पठाइहाल्ने मानसिकता समितिका सबै सदस्यमा देखिन्छ । अनि त्यो प्रतिवेदन कमजोर भएको दोष एकअर्कामाथि थोपर्दै चुनावमा जाने दाउ सत्ता र प्रतिपक्ष दुवैको देखिन्छ ।

अहिलेसम्मका अरु प्रकारका संसदीय छानबिन पनि यस्तै कर्मकाण्डी पारामा सकिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा अनधिकृत व्यक्ति घुसाएर करका दरमा चलखेल गरेको र सीसीटीभीका दृश्य नै गायब पारेको आरोपमा गरिएको छानबिन नामको नौटंकी यसको ताजा उदाहरण हो ।यस्तै संसदीय सुनुवाइका नाममा हुने कर्मकाण्डले संसारभर नै हाम्रो संविधान, प्रणाली र परिपाटीलाई एकसाथ गिज्याइरहेको छ । न्याय परिषद, संवैधानिक परिषद वा मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरूबारे उजुरी माग्ने अनि तिनै उजुरीबारे सांसदहरु भेला भएर तथानाम सोध्ने, अन्त्यमा जतिसुकै गम्भीर आरोप भए पनि तथ्यमा प्रवेशै नगरी नाम अनुमोदन गर्ने हाम्रो संसदीय सुनुवाइको प्रक्रिया बनेको छ ।

महाभियोगमा पनि समितिले राणासहित उनका आफन्त र उनीसँग नाम जोडिएका अन्य न्यायाधीश, केही संवैधानिक निकायका पदाधिकारी, कर्मचारीसमेतलाई समितिले बोलाउने हिम्मत गर्नुपर्ने हो । पछिल्ला केही वर्षको उनीहरुको कारोबार, सम्पत्ति किनबेच अनि मोबाइल कल डिटेल्स पनि हेर्नुपर्ने हो । राणामाथि लागेका कतिपय आरोपसँग कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमेत जोडिन्छन् । न्यायाधीशहरुको नियुक्ति, सरूवा वा कारबाहीमा उन्मुक्तिसम्बन्धी निर्णयमा कार्कीले पनि राणालाई साथ दिएका छन् । त्यसवापत् पर्याप्त भाग उनले पनि लिएका छन्।

त्यस्तै राणा विवादित भएको फैसला रन्जन कोइरालाको मुद्दा मुख्य हो । त्यसमा तेजबहादुर केसीलाई उन्मुक्ति दिएर राणालाई मात्र दोषभागी बनाउँदा केसीमाथि अन्याय हुनेछ । त्यस्तै बूढानीलकण्ठको हिट एन्ड रन मुद्दामा सपना प्रधान मल्ललाई पनि कठघरामा उभ्याउनुपर्ने हुन्छ । एनसेल प्रकरणमा १० जना न्यायाधीश जोडिएका छन् । त्यसैले संसदका लागि यतिखेर न्यायालय शुद्धीकरणका लागि गम्भीर र सार्थक पाइला चाल्ने यो अवसर हो । संसदले सधैँ यसैगरी न्यायालयमाथि हात हाल्न पनि मिल्दैन । उसका दैनन्दिनीमा चासो राख्न पनि हुँदैन । तर अहिले इतिहासको क्रमभंग गर्ने अवसर संसदसामु छ । यो अवसरलाई प्रणाली र पद्धतिको जगेर्नामा ऐतिहासिक कदम चाल्न उपयोग गर्न सक्नुपर्छ । इतिहासले सुम्पेको यो अभिभारालाई सांसदहरुले झारा मात्र टारे भने उनीहरुलाई भोलिको पुस्ताले धिक्कार्नेछ ।

  • प्रकाशित मिति : भदौ १५, २०७९, बुधवार ०७:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८