• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शर्मा र पुनको प्रतिस्पर्धामा गुरुङलाई चिट्ठा !

  • खबरदाता

शर्मा र पुनको प्रतिस्पर्धामा गुरुङलाई चिट्ठा !

भदौ ४, २०७९

 

माओवादीको गत पुस ११ गते महाधिवेशन सुरु भएदेखि नै सबैभन्दा बढी चर्चा महासचिव को बन्ने भन्नेमै थियो । महाधिवेशनबाटै पदाधिकारी टुङ्गो लगाउन जनार्दन शर्मा लगायत प्रायः सबैजसो शीर्ष नेताहरूले दबाब दिएका थिए । उता चीनमा उपचाररत वर्षमान पुनले तत्काल पदाधिकारी टुंगो नलगाउन प्रचण्डसहित आफू निकट नेताहरूलाई दबाब दिएका दिएका थिए । अन्त्यमा प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ती देश बाहिर भएकाले उनीहरू फर्किए लगत्तै पदाधिकारी टुंंगो लगाउने बचन दिए । त्यसपछि महाधिवेशनबाट आफूलाई अध्यक्षमा अनुमोदन गराउँदै अपूर्ण केन्द्रीय कमिटी घोषणा गरे । त्यसपछि महाधिवेशन सकियो ।

पुन चीनबाट उपचार गरेर फर्किएपछि पदाधिकारी टुङ्गो लगाउन पार्टीका नेताहरूले निकै दबाब दिए । तर, स्थानीय चुनावपछि पदाधिकारी चयन गर्ने भनेर प्रचण्डले यो विषय त्यत्तिकै थाती राखे । स्थानीय चुनाव सकिएपछि महासचिवमा शर्मा र पुन सहित शक्तिबहादुर बस्नेत, पम्फा भुसाल गिरिराजमणि पोखरेल लगायत नेताहरूले इच्छा देखाएको भन्दै निकै प्रचार भयो । त्यसमा मुख्य दाबेदारको रूपमा शर्मा र पुनको नाम प्रचारमा थियो । यस्तै केन्द्रीय समिति बैठकले पनि पदाधिकारीको टुङ्गो लगाउन दबाब दियो ।

नेताहरूको दबाबपछि यहीबीचमा अध्यक्ष प्रचण्डले आकांक्षीहरुबीच छलफललाई तीव्रता दिए । प्रचण्डको छलफलका क्रममा महासचिवको प्रतिस्पर्धामा रहेका पुनले त अध्यक्ष प्रचण्डलाई सहज हुन्छ भने आफू छोड्न तयार भएको भन्दै भावुक अभिव्यक्ति दिए । ‘पार्टीको महाधिवेशन थियो । म चीनमा उपचाररत थिएँ । त्यतिबेला स्वास्थ्य क्रिटिकल थियो । राम्रो उपचार पाएर फर्किएँ’ पुनले छलफलका क्रममा प्रचण्डलाई भनेका थिए, ‘अध्यक्ष प्रचण्डलाई सहज हुन्छ भने महासचिव छोड्न तयार छु । पार्टीले जुन जिम्मेवारी दिन्छ लिन तयार छु ।’

त्यसपछि प्रचण्ड महासचिवमा शर्मालाई बनाउने मुडमा देखिएका थिए । त्यति नै बेला बजेटमा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । तर छानबिनबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय पुगे । शर्माको पुनः अर्थ मन्त्रालयमा प्रवेश भएपछि पार्टीभित्र पनि छलफलले नयाँ मोड लिएको बताइन्छ ।

नेताहरूका अनुसार प्रचण्डले पुन र शर्माको विकल्पबारे तीन–चार वटा मापदण्ड बनाएका थिए । त्यसमध्ये एउटा मापदण्डमा आकाङ्क्षीमध्ये वरिष्ठलाई दिने भन्ने भयो । ‘आकाङ्क्षी दुवै जनाबीच सहमति नजुटेपछि हामीले बनाएको नयाँ मापदण्डमा वरिष्ठतालाई आधार बनाऊँ भन्ने भयो,’ एक नेताले भने, ‘त्यसमा देव गुरुङलाई बनाऊँ भन्ने प्रस्ताव आउँदा कसैबाट पनि विमति भएन ।’

 

  • प्रकाशित मिति : भदौ ४, २०७९, शनिवार २०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८