• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

मंसिर ३ गते १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने

  • खबरदाता

मंसिर ३ गते १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने

साउन ३०, २०७९

 

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि मतदानमा सहभागी हुन पाउने उमेरको निर्धारण गरेको छ ।

आयोगका अनुसार गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्तिहरूमध्ये निर्वाचन हुने अघिल्लो दिन अर्थात् मंसिर ३ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूले निर्वाचनमा मतदान गर्न पाउनेछन् । आयोगको गत साउन २२ गतेको बैठकले मतदाताको मतदानका लागि १८ वर्ष उमेर पुग्ने दिन निर्धारण गरेको आइतबार आयोगले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

यस्तै निर्वाचन घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरूमध्ये असोज ३ सम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिले मात्र मतदान गर्न पाउने भएकाले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेरसमूहका व्यक्तिले निर्वाचनमा मतदान गर्न नपाउने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

निर्वाचन पर्यवेक्षणका लागि आवेदन माग

यस्तै आयोगले निर्वाचनसम्बन्धी कामकारबाहीको पर्यवेक्षणद्वारा विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले निर्वाचन पर्यवेक्षणका लागि आवेदन माग गरेको छ । आयोगको निर्णयानुसार पर्यवेक्षण गर्नका लागि इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरूलाई आवेदन दिन आइतबार सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इच्छुक अन्तर्राष्ट्रिय संस्थाहरूले १५ दिनभित्र आयोगले तयार गरेको निर्वाचन पर्यवेक्षण व्यवस्थापन प्रणालीमार्फत आवेदन दिन सकिने गरी व्यवस्था मिलाइएको छ । साथै, निर्वाचनमा पर्यवेक्षण व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले साउन २८ गते निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७९, सोमवार १६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८