गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापना गरिने

  • खबरदाता
  • कार्तिक ११, २०७८

कात्तिक ११,२०७८

 

गैडाकोट । नवलपुरको गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय बनाउनका लागि नगरपालिकाले तीन ठाउँको जग्गालाई मन्त्रीपरिषदमा सिफारिस गरेको नगरप्रमुख छत्रराज पौडेलले बताए ।

यसको संकाय तथा अध्यापन गराइने विषय लगायतको विषयमा थप छलफल गर्न चार दिने कार्यशाला आजदेखि सुरु भएको छ। प्रस्तावित नेपाल विश्वविद्यालयबारे रणनीतिक योजना कार्यशाला सुरु भएको हो ।

धेरै चरणहरु पार भइसकेको र यो रणनीतिक छलफल पछि शिलान्यस गर्नेगरी काम गर्ने नगरप्रमुख छत्रराज पौडेलले बताए । नगरपालिकाबाट नगरभित्रका तीन ठाउँमा रहेको जग्गा विश्वविद्यालय निर्माणका लागि सिफारिस गरिसकिएको र अव मन्त्रीपरिषदबाट क्याविनेटमा लगेर निर्णय गर्नासाथ काम अघि बढ्ने उनको भनाई थियो । अहिले इआइएको काम समेत जारी रहेको छ ।

विश्वविद्यालय निर्माण गर्न गैँडाकोट १० को कोटीहोम पछाडी र गैँडाकोट १८ को आहाले र तात्रीस्वाँराको जग्गा सिफारिस गरिएको छ । धेरै रुख काट्न नपर्नेगरी जग्गा सिफारिस गरिएको हो । उपप्रमुख विष्णुकुमारी कडेँल सापकोटाको संयोजकत्वमा गठन गरिएको समितिले तीन वटा ठाउँको जग्गाको विकल्प पेश गरेको हो ।

बिहिवारदेखि गैडाकोटमा सुरु भएको कार्यशालालाई भर्चुअल माध्यम बाट सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाल विश्वविद्यालय गैडाकोटमा स्थापनाका लागि प्रदेशबाट सवै पक्षमा पूर्ण सहयोग रहने र प्रकृया अगाडि बढाउन आग्रह गरे । विश्वविद्यालयबाट उत्पादीत जनशक्ति विश्वबजारमा सहजै प्रतिस्पर्धा गर्न सक्नेगरी पढाइ हुने योजना सहित अघि बढ्न उनको सुझाव छ।

अहिले नेपालमा १२ वटा विश्वविद्यालय छन् । तर नेपाल विश्वविद्यालय स्थापनाका लागि नियमित सक्रिय पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, डा . अर्जुन कार्की,प्राध्यापक डाक्टर केदारभक्त माथेमा लगायतले यो विश्वविद्यालय विल्कुल फरक हुने बताए । सीप सहितको जनशक्ति जसले समसामयिक विषयमा गहिरो र तथ्यमा छलफल गरी नेतृत्व लिन सक्ने गी विद्यार्थी उत्पादन गर्न स्थापना गर्न लागिएको हो ।

अहिले डिग्री अध्ययन गरी हातमा सर्टिफिकेट हुँदाको व्यक्तिले भन्दा सामान्य मेशीन वा प्राविधिक कार्य गर्ने व्यक्तिको कमाई धेरै हुने व्यवहारिक तितो सत्यलाइ उन्मूलन गर्न यो विश्वविद्यालयको अवधारणा आएको उनीहरुको भनाई छ । विश्वविद्यालयको भीडमा अर्को विश्वविद्यालय थपिने नभई विश्वभरबाट यहाँ अध्ययन गर्न आउने वातावरण बनाउने गरी संचालन गर्न लागिएको डा. अर्जुन कार्कीले बताए । उनले भने,“यो सामान्य धारणाबाट आएर निरन्तर लागिपरेको विषय होइन, यो देशका विद्यार्थीले विश्वबजारलाई नेतृत् वगर्न सक्ने लक्ष्य राखि स्थापना गर्न लागिएको हो ।”
अहिले नेपाल विश्वविद्यालय गैँडाकोटमा स्थापना गर्न सरकारले २०७८ साल वैशाखमा गठन आदेश जारी गर्दै १५ करोड बढी बजेट समेत विनियोजन गरेको थियो । नेपाल विश्वविद्यालय विकास समिति समेत बनाइसकिएको छ । जसको अध्यक्षमा डा. अर्जुन कार्की छन् । ९ जना प्राज्ञिक क्षेत्रबाट र ४ जना सदस्यसचिव रहने गरी विकास समिति बनेको छ ।

डा. कार्कीले धेरै चुनौति पार गर्दै आएको र अव झन् चुनौतिहरु थपिदै गएपनि पार गर्दै जाने बताए । यसमा स्थानीयको साथ र सहयोगनै अपरिहार्य रहेकोमा जोड दिए ।

जग्गा उपलब्ध गराउने नगरपालिकाले , संरचना निर्माणमा नेपाल सरकारको कम सहयोग लिने र अन्य दातृ निकायले समेत चासो राखिसकेको समितिले जनाएको छ । सरकारी बजेट धेरै लिँदा हस्तक्षेप हुने र अन्य विश्वविद्यालय जस्तै अस्तव्यस्त वन्ने हो की भन्नेतर्फ समेत समिति सचेत रहेको छ । समितिका सदस्य डा। सुर्यराज आचार्यले सन् २०२३ बाट अध्ययन नै थाल्न सकिनेगरी काम अघि बढेको बताए । अव सरकारले जग्गा प्राप्तीको निर्णय जतिसक्दो चाँडो गरिदिन्छ त्यतिनै कामको रफ्तार अघि बढ्ने भएको छ । विश्वविद्यालयमा कस्ता विषय राख्ने भन्नेवारे अहिले सम्पन्न हुने गोष्ठी सकिएपछि निर्णय गर्दै जाने तयारीमा समिति रहेको छ।

डा. आचार्य भन्छन्,“विश्वविद्यालय काठमाण्डौमै समेत स्थापना गर्न पहल गर्दथ्यौँ होला तर सवै कुरा राजधानी केन्द्रीत हुनुहुँदैन भन्ने सन्देश पनि हो । साथै गैँडाकोट लगभग मध्यभागमा समेत पर्दछ र यहाँका स्थानीय देखि जनप्रतिनिधि राजनीतिक दलको यसप्रति रहेको सकारात्मक चासो र सहयोग पनि त्यतिनै उत्साहजनक छ ।त्यसैले यहाँ केन्द्रीत भयौँ । ”

व्यवहारिक शिक्षा सहित नैतिक,समसामयिक,प्रविधि र विज्ञान दैनिक जिवनसँग जोड्न सक्ने फरक विधिबाट पढाउने गरी विश्वविद्यालयलाई अगाडि बढाउने योजना छ ।

आज उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु कुमारी कडेँलले स्वागत मन्तव्य राख्दै जग्गा सिफारिस काम सकाएको र गैँडाकोटमा विश्वविद्यालय स्थापना भए शैक्षिक हवको रुपमा यस ठाउँको विकास हुने बताइन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे,डा. पूर्णकान्त अधिकारी लगायतले सम्वोधन गरेका थिए । कार्यक्रमको सहजीकरण करुणासागर सुवेदीले गरेका थिए।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८