• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

६ महानगरमा बढारियो एमाले

  • खबरदाता

६ महानगरमा बढारियो एमाले

 

जेठ ११, २०७९

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यस पटकको निर्वाचनमा महानगरपालिका प्रमुखले भारी मतान्तर बढाउन सफल भएका छन् ।

कुन महानगरमा कसको कति मतान्तर ?

वीरगञ्ज महानगरपालिका स् साढे २२ हजार मतान्तर

वीरगञ्ज महानगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका राजेशमान सिंह भारी मतान्तरसहित विजयी भएका छन् । सिंहले ४६ हजार २१५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार सरावगी २३ हजार ६७१ मतमा रोकिए । महानगर प्रमुखमा सिंह २२ हजार ५५५ मतान्तरले विजयी भए ।

उपप्रमुखमा विजयी नेपाली काँग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत पाए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले ९ हजार ५६८ मतमात्रै पाए । उपमेयर आलमले २० हजार ५१० मतको फराकिलो अन्तरले जित हासिल गरे ।

वीरगञ्जमा २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमुखमा उठेका राजेशमान तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीसँग पराजित भएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा राजेशमानले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।

भरतपुर महानगरपालिका स् १२ हजारको मतान्तर

चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेनु दाहाल विजयी भएकी छन् । उनले ५२ हजार ३० मत पाइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत पाए । रेनुले १२ हजार ४४९ मतान्तरमा जित हासिल गरेकी हुन् ।

उपप्रमुखमा निर्वाचित काँग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाउँदा उनका निकटम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत पाइन् । अधिकारीले २२ हजार १९१ मतान्तरमा जित हासिल गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगर प्रमुखमा रेनु दाहाल झिनो मतान्तरले विजयी भएकी थिइन् । नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँग उनले जम्मा २०३ मतको अन्तरमा जित हासिल गरेकी थिइन् । अघिल्लो चुनावमा रेनुले ४३ हजार १२७ मत पाएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका देवी प्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए ।

ललितपुर महानगरपालिका स् १८ हजारको मतान्तर

ललितपुर महानगर प्रमुखका लागि काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन फराकिलो मतान्तरले जीत हासिल गरेका छन् ।

उनले ४२ हजार ७२२ मत पाउँदा एमालेका उम्मेदवार भन्दा १८ हजार १६२ मतान्तरले विजयी बने । उनका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारले २४ हजार ५ सय ६० मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला महर्जनले २४ हजार ६४२ मत पाएका थिए भने ब्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए । त्यतिबेला चिरीबाबु ३२६ मतान्तरले विजयी भएका थिए ।

पोखरा महानगरपालिका

कास्कीको पोखरा महानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजय बनेका छन् । उनले एमालेका उम्मेदवार कृष्णबहादुर थापाभन्दा ६ हजार ४५ मत बढी ल्याएर जीत हासिल गरेका छन् । आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा थापाले ५२ हजार ८४८ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका मानबहादुर जिसी ६० हजार १११ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका नागेश कोइराला ३० हजार १७० मत पाएर विजयी भएका छन् । उनी ८ हजार ७१५ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तह चुनावमा काँग्रेसका भीम पराजुली २३ हजार ३१ मत पाएर विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी एमालेका विनोद प्रसाद ढकाललाई ५ हजार ७१० मतान्तरले पराजित गरेका थिए । ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

काठमाडौं महानगरपालिका : २० हजारको मतान्तर

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार ३३९ मत पाएका छन् । मतगणना चलिरहँदा उनले झन्डै २० हजारको मतान्तर कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए । उनले काँग्रेसका राजुराज जोशीभन्दा १९ हजार ६४४ मत बढी ल्याएका थिए ।

महानगरबाट बढारियो एमाले

२०७४ सालको स्थानीय तहको निर्वाचनमा देशका ६ महानगरमध्ये २ वटामा एमालेले जितेको थियो । काँग्रेसले २, माओवादी केन्द्रले १ र तत्कालीन संघीय समाजवादी फोरमले १ स्थानमा जित हात पारेका थिए । काँग्रेसले यसअघि जित हात पारेको ललितपुर र विराटनगर महानगर सुरक्षित गरेको छ । उता वीरगञ्जमा यसअघिको संघीय समाजवादी फोरम र हालको जसपाले पनि आफ्नो सिट जोगाउन सफल भएको छ ।

यस्तै माओवादी केन्द्रले भरतपुर महानगरपालिका पनि जोगाउन सफल भएको छ । एमालेले जितेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले र पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुने निश्चित भएको छ । महानगरपालिकाको नेतृत्वबाट एमाले बाहिरिन पुगेको छ ।

  • प्रकाशित मिति : जेठ ११, २०७९, बुधवार ०७:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८