• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानन्यायाधीश पछि महाअभियोग खेप्ने पालो अरु चार न्यायाधीशको !

  • खबरदाता

प्रधानन्यायाधीश पछि महाअभियोग खेप्ने पालो अरु चार न्यायाधीशको !

फागुन २ ,२०७८

 

मुलुकको न्यायपालिकामा गतिरोध बढेको ४ महिनापछि आएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सत्ता गठबन्धनले महाभियोग लगाएको छ । त्यो पनि यस्तो समयमा कि जब एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन र सरकार नै धर्मराएको थियो । अर्कोतिर गठबन्धनका केही घटक चुनाव टार्न चाहिरहेका थिए तर चुनावमा जानैपर्ने बाध्यता सिर्जना भएको थियो । अझ सर्वोच्च अदालतले माधव नेपालसहित १४ सांसदविरुद्धको कारवाहीसम्बन्धी मुद्दामा फैसलाको तयारी गरेकै दिन सरकारले अदालतमाथि हमला गरेका छ । यसले राणामाथिको महाभियोग कुनै निकास वा शुद्धीकरणको प्रयोजन नभई विशुद्ध राजनीतिक उद्देश्यले आएको प्रस्ट भएको छ ।

सत्ता गठबन्धनको यो उद्देश्य बुझेको संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेले राणाविरुद्धको महाभियोगमा नसघाउने स्पष्ट पारेको छ । उसले महाभियोग फिर्ता लिन सत्तापक्षमाथि दबाब पनि बढाएको छ । यदि फिर्ता नगरे गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने अरु चार न्यायाधीशमाथि पनि महाभियोग लगाउने तयारी एमालेले गरेको छ ।

अब एमालेबाट महाभियोग बेहोर्ने न्यायाधीशहरुमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र मीरा खड्का छन् । प्रधानन्यायाधीश राणा र यी चार न्यायाधीश रहेको संवैधानिक इजलासले संविधान र कानुनका प्रस्ट प्रावधानलाई समेत बेवास्ता गरी सिधै देउवालाई प्रधानमन्त्री तोकेर राजनीतिक फैसला गरेका थिए । यति मात्र होइन फ्लोर क्रस गरी देउवालाई मत दिने एमाले सांसदहरुलाई कारवाहीसमेत गर्न नमिल्ने र ह्वीप पनि नलाग्ने गरी फैसला गरेका थिए । अदालतले राजनीति र संसदका काममा यो हदसम्मको हस्तक्षेप गरेको संसारकै इतिहासमा बिरलै पाइन्छ । त्यही फैसलाबाट संसद विघटन बदर पनि भएको थियो । पुनःस्थापति संसदले अहिलेसम्म एक सिन्को पनि काम गर्न सकेको छैन ।

एमालेले कांग्रेस, माओवादी र एकीकृत समाजवादीले राणामाथि लगाएको महाभियोगलाई लोकतन्त्रमाथिकै हमला र देशमा अर्को अस्थिरता निम्त्याउने खेल भनेको छ । स्वतन्त्र न्यायापालिकालाई गिँजोल्ने र आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न गठबन्धनले यो कदम चालेको उसको निष्कर्ष छ । मुलुकलाई अस्थिरतातिर धकेलेर सार्वसौमसत्तामाथि समेत धाबा बोल्ने वातावरणका लागि पनि यस घटनाले मलजल गरेको एमालेको ठम्याइ छ । त्यसैले राणामाथिको महाभियोगलाई काउन्टर दिन एमालेले अरु चार न्यायाधीशविरुद्ध पनि महाभियोग ल्याउने भएको हो ।

महाभियोगसम्बन्धी छलफल गर्न एमालेले बिहान ११ बजे नै संसदीय दलको बैठक बोलाएको छ । उसले हिजै उपत्यकाबाहिर रहेका सबै सांसदलाई काठमाडौँ बोलाइसकेको छ । संसदमा एकलरुपमा महाभियोग लगाउन सक्ने तागत पनि एमालेसँग मात्र छ । साथै एमालेको सहयोगबिना सत्ता गठबन्धनले महाभियोग पारित गर्न पनि सक्दैन ।

सत्ता गठबन्धनले महाभियोग पारित गर्न नसक्ने भएकाले यो विषय विचाराधीन रहेकै अवस्थामा संसद विघटन गर्न सक्ने सम्भावना पनि बढाएको छ । संसद र न्यायालयविरुद्ध एकसाथ कु गर्ने अनि चुनाव पनि अनिश्चयनमा धकेलेर राज्यसत्तामा गैरसंवैधानिक तवरले कब्जा जमाइराख्ने उद्देश्यले गठबन्धन अगाडि बढेकाले पनि एमालेले अर्को कुनै कठोर कदम चाल्नुपर्ने अवस्था आएको छ ।

त्यसो त एमालेले चार न्यायाधीशविरुद्ध महाभियोग ल्याएमा गठबन्धनले एमालेनिकट ठानिएका हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, हरि फुयाँल, बमकुमार श्रेष्ठ, कुमार रेग्मीलगायतमाथि पनि आक्रमण गर्न सक्नेछ । त्यसो भएमा अदालतका सबै विवादित न्यायाधीशलाई हटाएर उच्च र जिल्ला अदालतका राम्रा न्यायाधीशलाई सर्वोच्च ल्याउने बाटो खुल्नेछ । तत्कालका लागि अहिलेसम्म कुनै विवादमा नपरेका र कुनै राजनीतिक पक्षधरता पनि नदेखिएका अनिल सिन्हालाई प्रधानन्यायाधीश बनाउन सकिन्छ ।

 

  • प्रकाशित मिति : फागुन २, २०७८, सोमवार १५:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८