• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

पक्षविपक्षको बहस सकियो कहिले आउला फैसला !

  • खबरदाता

पक्षविपक्षको बहस सकियो कहिले आउला फैसला !

माघ ३०, २०७७

प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरुको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । पक्ष र विपक्षका सबै कानुन व्यवसायीहरुको बहस सकिएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीतर्फका केही कानुन व्यवसायीले र सभामुख अग्नि सापकोटाका वकिलले बहस सकेका हुन् ।विपक्षीका वकिलहरुले उठाएका प्रश्नको जवाफ दिन अब निवेदक पक्षलाई इजलासले केही समय दिनेछ । यो प्रक्रिया आइतबारको सुनुवाइमा सकिनेछ । त्यसपछि नेपाल बारका तर्फबाट पठाइएका पाँचजना एमिकस क्युरीले आफ्नो राय प्रस्तुत गर्नेछन् । त्यो प्रक्रिया पनि धेरै नलम्बिने र सकेसम्म एकै दिन र नभए दुई दिनभित्र सक्ने इजलासको योजना छ ।

वकिल र एमिकस क्युरीको बहस जिकिर सुनिसकेपछि इजलासले फैसलाको प्रक्रिया अघि बढाउनेछ । यस बीचमा अरु कुनै अनपेक्षित घटनाक्रम विकसित नभएमा निर्णय सुनाउने दिन तोकेर करिब एक सातामा फैसला गर्न सक्ने आकलन गरिएको छ ।

बाहिर विभिन्न पक्षहरुले अदालतलाई लक्षित गरी थरीथरीका भाषामा अभिव्यक्ति दिन थालेको र लामो समय यो विषय विचाराधीन रहँदा अरु पनि राष्ट्रिय मुद्दा प्रभावित भएको कुरा इजलासलाई राम्रोसँग जानकारी छ । त्यसमाथि न्यायाधीशहरुमाथि दबाबकारी भाषण र नेपथ्यका घटनाक्रम विकसित भइरहेका कारण पनि अदालतले यस विषयलाई चाँडो निक्र्योल गर्ने सोच बनाएको बुझिएको छ ।

अदालतको फैसला नआउँदा निर्वाचन आयोगले ढुक्कसँग निर्वाचनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्ने दुविधा झेल्नुपरेको छ । नेपाली कांग्रेस लगायत कतिपय राजनीतिक दलहरु पनि आफ्नो गतिविधि अघि बढाउन अदालतको निर्णय कुरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको पक्ष र विपक्षमा सबै राजनीतिक दल र अन्य समूहहरु पनि ध्रुवीकृत भएका छन् । अदालतले प्रधानमन्त्रीको कदमको वैधानिकताबारे स्पष्ट पारिदिएपछि मुलुकले पनि निकास पाउने ठानिएको छ ।

  • प्रकाशित मिति : माघ ३०, २०७७, शुक्रवार ००:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८