हिजो मंगलबार कुलमानलाई जनताले कुर्सीमा फेरि अनुमोदन गरिदिए । हुन त, केहि दिनदेखि उनको कार्यकाल थप्नुपर्छ भन्ने आवाज व्यापक उठिरहेको छ । यसले यो प्रमाणित गरिदियो कि केहि विचौलिया र खराब नेता वाहेक सारा जनता नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन : कुलमान घिसिङको निरन्तरता चाहन्छन् ।
तर, हिजो मन्त्रिपरिषदमा यो बिषय नै पुगेको थिएन । एकाएक कुलमानलाई बधाईको ओइरो कहाँबाट आयो ? केहि मानिसका लागि कलाकार भनिएका एकजनाले कुलमानलाई बधाई दिएछन् । धमाधम त्यहि आधारमा सामाजिक संजाल र केहि मिडियामा फैलिएछ । जिम्मेवार भनिएकाहरुले पनि हतारिए बधाई बजाइहाले । त्यसको केहि सेकेण्डमै मैले ‘यो गलत हल्लाको पछि नलागौं, निर्णय हुन बाँकी छ ’ भन्ने यही फेसवुकमा पोष्ट गरिदिए । (हेर्नुस टाइमिङ) ।
हुन त हामी, कुलमानको निरन्तरताका लागि निकै आतुर छौं । तर, कहिलेकाहीँ गलत हल्लाले परिणाम विपरित आइदिन्छ भन्ने हामीले हेक्का गरेनौं । तपाईं हामी तमाम नागरिक कुलमानलाई साथ सहयोग गरिरहेका छौं, अझै उहाँलाई त्यो अवसर दिइरहन चाहन्छौं । दवाव कायम राखौं । कुलमानको कार्यकाल थपका लागि घरघोर आवाज उठाऔं ।
भारतमा आजभन्दा ४ बर्ष पहिले एकजनाले महानायक अभिताभ वच्चनको मृत्यु भनेर पोष्ट गरिदियो । केहि मिडियाले त्यसलाई ब्रेकिङ न्युज वनाईदिए । नेपालमा पनि केहि दिन अघि मृत्यु भएका राष्ट्रकवि माधब घिमिरेलाई केहि बर्ष पहिले केहि छापाहरुले मृत्यु भएकोसम्म लेखे । डा. उपेन्द्र देवकोटाको पनि मर्नुभन्दा ५ दिन अघि नै उनि मरिसकेको समाचार बाहिरिएका उदाहरण हामीले व्यहोरिसकेका छौं ।
अहिले सामाजिक संजाल मात्र होइन, जिम्मेवार मिडियाहरु पनि बेलाबेलामा चुकिसकेका छन् । सत्य सुचना र समाचार कसरी विश्वास गर्ने त ? पहिलो कुरा, अहिले मुलधारको मिडियाको मैदान सामाजिक संजालले ओगटिदिएको छ । नेपालमा मात्र होइन, विश्वभरि नै अहिले यही ट्रेण्ड कायम छ । ठुला मिडियामा सम्प्रेक्षित समाचार सामाजिक संजालमा नपोखिएसम्म न कसैले पढ्छन्, न कसैले सुन्छन्, न कसैले देख्छन् ।
अब रह्यो कुन समाचारलाई विश्वास गर्ने त ? पेशागत बाहिर रहेका व्यक्तिले कुनै बिषय सार्बजनिक गरिहाल्यो भने तुरुन्त विश्वास नगर्नुस । उसले आफ्नै पेशागत मर्यादामा बस्नुपर्छ । जस्तै कलाकारले कलाको बिषय, पत्रकारले सुचना समाचारका बिषय, कृषकले बालीनालीका बिषय, चिकित्सकले उपचारका बिषय, शिक्षकले पढाईका बिषय, कर्मचारीले आफ्नै कामका बिषय, सामाजिक व्यक्तिले समाजका बिषय, राजनीति गर्ने नेताले राजनीति कै बिषय लगायत जो जो आफ्ना पेशामा छन्, त्यहि त्यहि बिषयमा लेखिएका सन्दर्भलाई मात्र विश्वास गर्न सकिन्छ ।
मिडिया ठुलो मात्र भएर हुँदैन । त्यो मिडियाको मालिक कस्तो छ ? सम्पादक कति स्वतन्त्र र जिम्मेवारी छ । आदि कुराका आधारमा त्यो मिडियाको समाचारलाई विश्वास गर्ने हो । मालिकको गलत मनसायमा पनि यस्ता अफवाह समाचार आउँछन् ।
सम्पादकको अदक्षताका कारणले पनि गल्ती बिषय बाहिरिन्छन् । रिपोर्टरको अबुझताका कारणले पनि झुट विवरण आउँछन् । फेक न्युज र एल्लो जर्नालिजमले विश्व नै हैरान भएको बेला नेपालमा पनि त्यसको असर नहुने कुरै भएन ।
अब लाग्ला कस्को समाचार विश्वास गर्ने त ? मुलधारकै भएपनि एउटा मात्र मिडियाको समाचार हेरेर विश्वास नगर्नुस । क्रस गरेर एक भन्दा बढि मिडियाका समाचार हेर्नुस । मिडियाकै जिम्मेवार व्यक्तिको सामाजिक सजालका पोष्टहरु पनि सही सुचनाका आधार हुन सक्छन् । तर, सामाजिक संजालकै भर चाहीं नपर्नुस । कहिलेकाहीं मैले नै पोष्ट गरेका बिषय आँखा चिम्लेर शेयर गर्नुस त म भन्दिन, तर धेरै हदसम्म मैले लेखेका बिषय तपाईंले शेयर गर्दा लाज हुन नदिने प्रण भने गर्नेछु । म यही पेशा पत्रकारितामा निरन्तर पुर्ण व्यवसायीक रुपमा महत्वपुर्ण जिम्मेवार सम्हालिसकेको व्यक्तिको नाताले यो अवगत गराएको मात्र हुँ ।
बाँकी रह्यो कुलमान घिसिङको कुरा, उहाँको कार्यकाल अझै यहि २०७७ साल भदौ २९ गतेसम्म बाँकी नै छ । आज १० गते हो । सरकारको काम त्यहि हो, कति ढिलासुस्ती, विलम्वता, गलत मनसायले निर्णय सार्बजनिक गरिन्छ र गरिएका छन् । सबैले देख्नुभएकै छ । उस्तै परे यो सरकारले यही भदौ २८ गते रातीतिर कुलमानको निर्णय सार्बजनिक गर्ला । यस्ता उदाहरण विगतमा धेरै देखिएका छन् । तर, पछिल्लो पटक कुलमानलाई विद्युत प्राधिकरणमा निरन्तरता दिने संभावना जम्मा करिब ४० प्रतिशतमा झरिसकेको छ । निरन्तरता नदिने संभावना बढेर ६० प्रतिशत पुगेको संकेतहरु देखिएका छन् । यो तितोसत्यलाई पनि मनन गरौं । पुरानो माओवादीको एक तप्का, पुरानो एमालेको एउटा समुह र नेपाली कांग्रेसको एउटा च्यानल कुलमानलाई निकाल्न चाहिरहेका छन् । स्वंय उर्जामन्त्री वर्षमान पुन पनि अहिले कुलमानलाई रुचाएका छैनन् । षडयन्त्रका इट्टाहरु दिनदिनै थपिएका छन् । त्यसैले, अझै ठुलो जनदवावको खाँचो छ । सबैजना एकमतले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरताका लागि आवाज उठाईरहौं । कुलमानको निरन्तरताका लागि जनआवाज वाहेक अर्को कुनै विकल्प छैन । जयदेश ।