काठमाडौं– काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस भइरहेको छ । गत सोमबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो सार्वजनिक बिदा भएकाले आज फेरि बहस हुन लागेको हो ।
थुनछेक बहस सम्भवतः आजै सकिने भएकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा बाहिरै बसेर कानुनी लडाइ लड्ने भन्ने आदेश आउन सक्ने जनाइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार ६५ लाख धरौटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटेपछि आइतबार लामिछाने आफैँ अदालतमा उपस्थित भएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।
उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लामिछानेलगायत माथि आरोप छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८