• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिराटनगर पुगेका भीम रावललाइ राजावादीको स्वागत

  • खबरदाता

बिराटनगर पुगेका भीम रावललाइ राजावादीको स्वागत

विराटनगर– नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । यस्तो नारा पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना माग गर्दै लगाउने गर्छन्‌ ।

गृहमन्त्री भएका बेला पूर्व पुगेका रावल यतिखेर ‘मातृभूमि जागरण अभियान’का लागि पूर्व आएका हुन् । विराटनगर विमानस्थलमा आज रावललाई स्वागत गर्ने पुगेको राजावादीहरूले ‘जय देश जय नरेश’ को नारा लगाएका हुन्‌ ।

राजावादीहरू राष्ट्रिय झण्डासहित रावललाई स्वागत गर्न पुगेका थिए । तर, प्रहरीले उनीहरूलाई राष्ट्रिय झन्डा भने विमानस्थल परिसरमा लैजान रोकेको थियो ।

यसअघि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘नागरिक बचाउने महाअभियान’ भन्दै नयाँ अभियान सुरु गरेका थिए। सोही अभियानमा समेत जोडिएका सुनसरी इटहरीका सतीश पोखरेलसहितको समूह रावललाई स्वागत गर्न विराटनगर विमानस्थलमा पुगेको थियो ।

पोखरेलले रावललाई माला लगाइदिँदै ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन अभियान’को तर्फबाट स्वागत गरिएको बताए । उनले देशमा ठुलो अभियान चलाएर उक्त अभियानमा सबै एक भएर यो देशका दलालहरू विरुद्ध उत्रनुपर्ने राय,सुझाव धारणा दिएका थिए । त्यसपछि पोखरेलले ‘जय देश जय नरेश’को नारा लगाए ।

केही समय पहिले झापाको काँकडभिट्टास्थित मेची नदीबाट प्रसाईँले ‘नागरिक बचाउ महाअभियान’ अभियान सुरु गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पूर्व युवराज पारस शाह पनि मञ्चमा देखिएका थिए ।

निकै लामो समयपछि पूर्व आएका रावललाई स्वागत राजावादी, दुर्गा प्रसाईँ समर्थितसँगै विभिन्न राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरू विराटनगर विमानस्थलमा पुगेका थिए ।

रावलले प्रधानमन्त्री एवम्‌ एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीलाई ‘बामाले’ कम्पनीमा परिणत गरिदिएको भनी टिप्पणी गरे ।

एमाले पार्टीको मूल विचार र सिद्धान्त मार्क्सवाद र लेलिनवादको समाप्त पार्दै ओलीले पार्टीलाई ‘बामाले कम्पनी’मा परिणत रावलको तर्क थियो ।

उनले एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफूमाथि आलोचना गर्नेलाई हटाएर एमालेमा ‘बामाले’लाई स्वीकार्ने र जसरी भए पनि पद लिने नीति अख्तियार गर्ने नेता कार्यकर्तामात्र राख्ने नीति लिएको समेत आरोप लगाए ।

पार्टी अध्यक्ष ओलीविरुद्ध खरो रूपमा उत्रिएका नेता रावलले ओली पहिचान खुल्न नसक्ने नेताको नमूना रहेको भन्दै कटु कटाक्षसमेत गरे ।

एक अर्को प्रसङ्गमा नेता रावलले मातृभूमिको रक्षाका लागि आफूले मातृभूमि जागरण अभियान सञ्चालन गरी सबै देशभक्तलाई अभियानमा जोड्न चाहेको बताए । यो अभियानमा कम्युनिस्ट, गैर(कम्युनिस्ट र राजवादी सबै अटाउने नेता रावलको दाबी छ ।

  • प्रकाशित मिति : पुस २०, २०८१, शनिवार १५:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८