• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

सभामुखको अधिकार खोस्न तम्सिएको सत्ता गठबन्धन किन भयो ब्याक ?

  • खबरदाता

सभामुखको अधिकार खोस्न तम्सिएको सत्ता गठबन्धन किन भयो ब्याक  ?

चैत- २०, २०७९

 

सभामुखको अधिकार कटौतीका लागि लागिपरेको सत्ता गठबन्धन अन्ततः ब्याक भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीका सांसदले प्रतिनिधिसभा नियमावली मस्यौदामाथि संशोधन प्रस्ताव राखेर प्रतिनिधिसभा सञ्चालनमा सभामुखमा रहेका केही अधिकार कटौतीको प्रस्ताव गरेका थिए । खासगरी प्रतिनिधिसभाको बैठक डाक्ने विषय सभामुखको तजविजमा हुने गर्छ ।

उनीहरूले यही अधिकार कटौतीको प्रस्ताव गरेका थिए । तर, प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउन आवश्यक पर्ने नियमावली आइतबार पारित गरेको छ । उनीहरूले उक्त प्रस्ताव फिर्ता लिएका हुन् ।सरकारको नेतृत्व गरिरहेको माओवादीका सांसदहरु अधिकार कटौतीका लागि अघि बढेपनि कांग्रेसका नेताहरू नमानेपछि फिर्ता लिइएको हो । हालका सभामुख देवराज घिमिरे एमालेबाट निर्वाचित भएका हु्न् । अहिले एमाले प्रतिपक्षको कित्तामा पुगेको छ ।

विधेयक अगाडि बढाउने तथा बैठक डाक्ने सन्दर्भमा सभामुख आफ्नो पूर्ववर्ती दलप्रति झुकाव राख्न सक्ने भएकाले अधिकार कटौती गर्न खोजिएको थियो तर, कार्यविधि संशोधन गरेर अधिकार कटौती गर्दा पछि आफ्नो दलबाट निर्वाचित सभामुखले पनि सोही नियति भोग्नुपर्ने हुनसक्ने र यसरी कहिले अधिकार दिने त कहिले कटौती गर्दा संसदीय अभ्यासमा राम्रो सन्देश नजाने भएपछि कांग्रेसले असहमति जनाएको हो।

यद्यपि, कांग्रेस सांसद रामहरि खतिवडाले नियमावलीको नियम १३ मा उपनियम थप गरी सभामुखले गर्ने भनी उल्लेख गरिएका कार्य सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गरी गर्नुपर्ने संशोधन राखेका थिए । कांग्रेसको शीर्ष तहबाट ब्याक हुन भनिएको हो ।तर, प्रतिनिधिसभा बैठक पहिला कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित बस्नुपर्ने भनिएको छ । यसअघि सभामुखले आवश्यक ठानेको बेला मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने गरिएको थियो ।

त्यस्तै, अब अधिवेशन नचलेको बेला सभामुख र उपसभामुखको स्थान रिक्त भए चुनावको नयाँ व्यवस्था गरिएको छ । प्रतिनिधिसभा नियमावली अनुसार सभामुख र उपसभामुखको पद संसद्को अधिवेशन चलेको अवस्थामा रिक्त भएमा १५ दिनभित्र नियुक्त गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था कायम राख्दै प्रतिनिधिसभा नियमावलीमा नयाँ व्यवस्था संसद्को अधिवेशन चालु नरहेको अवस्थामा भने अधिवेशन बोलाएर बसेको प्रतिनिधिसभाको पहिलो बैठकको १५ दिनभित्र सभामुख र उपसभामुखको चयन गर्नुपर्ने नयाँ व्यवस्था गरिएको हो ।कार्यविधि पारित भएसँगै प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि बनाउने बाटो खुलेको छ ।

  • प्रकाशित मिति : चैत २०, २०७९, सोमवार ०६:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८