• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मृतकका परिवारलाई प्रवासीले पठाए २० लाख

  • खबरदाता

मृतकका परिवारलाई प्रवासीले पठाए २० लाख

असार २२, २०७९

 

२ हप्ताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका बागलुङको गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत रकम पठाएका छन्।

घुम्टे युवा परिवार जापान शाखाको पहलमा संकलित १८ लाख ८५ हजार र लक्जम्बर्गमा रहेका आफन्तजनबाट प्राप्त २ लाख रुपैयाँ थापाको तेह्रौं दिनको पुण्यतिथिमा परिवारजनलाई हस्तान्तरण गरिएको हो ।

राहत रकम वडाध्यक्ष राज थापा र घुयुप जापान शाखाका सचिव तुलवीर थापाले विनोदका बुवा द्रोणबहादुरलाई प्रदान गरेका थिए । छोराको वियोगसँगै परिवार आर्थिक समस्यामा जेलिएपछि राहत अभियान चलाइएको सचिव थापाले बताए । ‘१ हप्तामै स्वस्फूर्त रूपमा रकम संकलन भयो, अभियानमा जापानमा रहनुभएका गलकोटे धेरै जोडिनुभएको छ,’ उनले भने, ‘दिवंगत विनोद थापाका बहिनीहरूको पढाइ र परिवारको जीविकाका लागि केही सहयोग पुगोस् भनेर राहत प्रदान गरेका हौं ।’

राहत अभियानमा शाखाका उपाध्यक्ष दुर्गा थापा, युवा संयोजक प्रकाश केसी र सल्लाहकार कुलवीर थापा विशेषरूपमा खटेका थिए । वडाध्यक्ष थापाले गाउँछिमेकमा विपद् पर्दा प्रवासमा रहेका नेपालीहरूले गर्ने सहयोग अतुलनीय रहने बताए । उनले घुम्टे युवा परिवारका देशभित्र र बाहिर रहेका शाखाले सामाजिक तथा मानवीय सेवामा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपका अध्यक्ष थम्मन थापाले जापान शाखामार्फत गलकोटमा ठूलो सहयोग भित्रिएको बताए । गाउँको गाह्रोसाह्रोमा आर्थिक सहयोगदेखि सामाजिक विकासका काममा घुयुपले हातेमालो गर्दै आएको उनको भनाइ छ । चितवनमा मोटरसाइकलमा सवार रहेका बेला विद्यालय बसको ठक्करबाट विनोदको निधन भएको थियो । भिसा लागेर जापान जाने तयारीमा रहेका थापाले अल्पायुमै ज्यान गुमाएका थिए । उनका बुवाआमा र ३ बहिनी छन् ।रासस

  • प्रकाशित मिति : असार २२, २०७९, बुधवार २०:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८