असार २,२०७९
अप्राकृतिक र अनपेक्षित रुपमा अदालतको परमादेशबाट प्रकट भएको देउवा सरकार देशलाई शक्ति राष्ट्रको खेलमैदान बनाएर भावी पुस्तालाई पनि यो देशमा बाँच्नु न मर्नुको अवस्थामा पुर्याउने दिशामा अघि बढेको छ । जानीजानी चीन र भारतलाई चिढ्याएर अमेरिकी सेनालाई देशै जिम्मा लगाउने खालका सम्झौता र समझदारीको भित्रभित्रै तयारी गरिरहेको हाल बाहिरिएका दस्तावेजले देखाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका यस्ता हर्कतले नेपाली सेनासमेत आजित रहेको कुरा बुधबार राति जंगीबाट जारी विज्ञप्तिबाट स्पष्ट हुन्छ ।
अमेरिकाबाट प्रस्तावित सैन्य साझेदारी कार्यक्रम नेपालको परराष्ट्र नीतिविपरीत र देशलाई भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने प्रकृतिको भएकाले स्वीकार नगर्न सांसदहरुले सचेत गराइरहेका छन् । प्रतिनिधि सभा बैठकमा दिनहुँ सत्ता र प्रतिपक्षी दलका सांसदले एक स्वरमा सरकारलाई विदेश नीतिबाट विचलित भई कुनै पनि मुलुकको ब्यानरमा सैन्य गठबन्धन नगर्न ध्यानाकर्षण गराइरहेका छन् ।
पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार अमेरिकाबाट प्रस्तावित ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भएकाले त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने खालको छ । नेपाल सैन्य गठबन्धनमा जोडिँदा देशको परराष्ट्रनीति र संविधान पनि उल्लंघन हुने ज्ञवालीको तर्क छ । संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जान सक्ने तर सरकारले एउटा शक्ति राष्ट्रसँग सैन्य गठबन्धन गरेर अर्को छिमेकीको ढोकैनिर सैन्य गतिविधि गर्न दिने कुरा कति जायज हुन्छ भन्ने अर्को प्रश्न छ ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि एसपीपी सम्झौताबारे कुरा आएको तर उक्त सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनेर ‘होल्डुमा राखिएको ज्ञवालीले स्पष्ट पारेका छन् । यस्तै कांग्रेस सांसद गगन थापा पनि कसको पालामा केके भएको थियो र अहिलेको तयारी के हो भनेर प्रधानमन्त्रीले सदनमै जवाफ दिनुपर्ने पक्षमा छन् । कुनै पनि प्रकारका सैन्य गठबन्धनमा सहभागी नहुने नीतिमा नेपाली कांग्रेस स्पष्ट रहेकाले यसभन्दा प्रतिकूल सम्झौता पार्टीलाई स्वीकार्य नहुने पनि उनले सदनमा स्पष्ट पारेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनदेखि मजदुर किसान पार्टीका प्रेम सुवालको मत यही मुद्दामा मिलेको छ । हतारहतारमा एमसीसी अनुमोदन गरिएकाले अहिले जटिलता थपिँदै गएको र अझै समस्या लाइन लागेर आउने उनीहरुको बुझाइ छ ।
सांसदहरुले यस विषयमा सरकारका तर्फबाट प्रधानमन्त्री नै सदनमा आएर जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई हलुका रुपमा लिएका छन् । प्रधानमन्त्री जवाफ दिन आफू त उपस्थित भएनन् नै । बरु कहिले कानुनमन्त्री त परराष्ट्रमन्त्री पठाएर संसद एवं सांसदप्रति हेपाहा व्यवहार देखाइरहेका छन् ।
कानुन मन्त्री गोविन्द बन्दी एसपीपीका लागि नेपालले कुनै प्रस्ताव नगरेको र सरकारलाई बदनाम गराउन यस्तो हल्ला फैलाइएको आरोप लगाउँछन् । जबकि अघिल्लै दिन नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम नराम्रो नभएको बताएका थिए।
कानुन मन्त्रीले संसदमा अमेरिकाबाट स्टेट पार्टनरसिप कार्यक्रमका लागि कुनै प्रक्रिया अघि नबढेको बताए पनि दस्तावेज नै बाहिरिसकेको छ । त्यसैले अहिले बाहिरिएको १० बुँदे दस्तावेजमा अनभिज्ञता प्रकट गरेर मात्र सरकारले छूट पाउने स्थिति छैन । यससम्बन्धी सबै यथार्थ घटनाक्रम सार्वजनिक नगर्दासम्म आशंका जीवितै रहनेछ । अझ एमसीसी अनुमोदनका बेला जेजे आशंका गरिएका थिए, अमेरिकाले नेपालमा सैन्य साझेदारीको पहल र तिब्बतलक्षित गतिविधि बढाएकाले तिनै आशंकामा बल पुर्याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको आसन्न अमेरिका भ्रमणलाई पनि यसैसँग जोडेर हेरिएको छ ।
एसपीपी विवादित भएपछि अहिले सरकारकै मन्त्रीहरुले फरकफरक अभिव्यक्ति दिन थालेका छन् । अघिल्लो दिन त्यही संसदमा परराष्ट्र मन्त्री नारायण खड्काले यो सैन्य साझेदारी नभई विपद उद्धारका लागि संयुक्त अभ्यास मात्र भएको बताएका थिए । भोलिपल्ट कानुनमन्त्रीले यस खालको कुनै पनि प्रस्ताव अघि नबढेको बताए । अमेरिकी दूतावासले समेत सम्झौता नभइसकेको तर साझेदारी चाहेको वक्तव्य दिएको छ । नेपालले नै दुईपटक यसका लागि आवेदन हालिसकेको दूतावासले जनाएको छ । यी कुनै पनि कुरा एकअर्कासँग मेल खाँदैनन् । यो झनै गम्भीर विषय छ । देउवाले सत्ताको झोलुंगोमा बसिराख्नका लागि देशै अमेरिकी सेनाको पोल्टामा पार्नका लागि सार्वमौम संसद, सांसद, आफ्नै पार्टी र नेपाली सेनालाई समेत गुमराहमा पारिरहेका छन् । सत्ताका निम्ति जे पनि गर्न तयार हुने उनको यो लघुसोचको परिणाम हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८