• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

भरतपुरको कृष्णपुर मतदानकेन्द्रमा चिट चोरेर असम्बन्धित व्यक्तिले गरे मतदान (भिडियोसहित)

  • खबरदाता

भरतपुरको कृष्णपुर मतदानकेन्द्रमा चिट चोरेर असम्बन्धित व्यक्तिले गरे मतदान (भिडियोसहित)

बैशाख ३०,२०७९

चितवन – भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको एक मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । मतदान केन्द्र ‘ग’मा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले मतदान गरेका हुन् ।

आफ्नो आमा र बुबाको मतदान आफुले गरिदिने भनेर भरतपुर–७ का वडा सदस्य राजेन्द्र तामाङले चिट चोरेर मतदान गरेका हुन् । आमा बुबा आफै हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि आफु जनप्रतिनिधि पनि भएको भन्दै उनले मतदान गरिदिएका हुन् ।

उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफु जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे ।

उक्त मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए ।
मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफुले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गर्दिसके । मिडियामा नल्याउनु । मिडियाबाजी किन गर्नु ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए ।

‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने, ‘सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए ।

गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केहि मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहिले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

पत्रकारलाई दुव्र्यवहार

फोटो र भिडियो खिच्न पुगेका पत्रकारहरुलाई कृष्णपुर माविको मतदान स्थलमा दलका कार्यकर्ताहरुले दुव्र्यवहार गरेका छन् । भरतपुरको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले गर्न लागेको मतदानको फोटो र भिडियो खिच्न पुगेका पत्रकारलाई नेपाली कांग्रेस भरतपुर–७ का सभापति विनोद ढकालको समूहले दुव्र्यवहार गरेको हो ।

पत्रकारलाई भिडियो खिच्न अवरोध गरेका ढकालले पत्रकारको क्यामेरा फुटाउनेसम्मको धम्की दिए । ढकाल कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता हुन् । कांग्रेसकै बागी उमेदवारले त्यहिबाट मतदान गर्ने भएपछि उनीहरुले पत्रकारलाई समेत धम्की दिएका हुन् ।न्युज कारखाना

 

  • प्रकाशित मिति : वैशाख ३०, २०७९, शुक्रवार १२:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८