• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु

  • खबरदाता

न्यादी जलविद्युत आयोजनाबाट विद्युत परीक्षण उत्पादन सुरु

बैशाख ९,२०७९

 

लमजुङको न्यादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ । चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी विद्युतगृह सञ्चालन गरिरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले असहयोग गरेका कारण आयोजनाको उत्पादन साढे २ महिना ढिलो हुन गएको छ ।

अहिले सबै कुरा मिलिसकेको हुँदा विद्युत उत्पादनको चरणमा पुगेको न्यादी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताए । आयोजनाबाट उत्पादित विद्युत प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिने छ । ६ अर्ब ४ करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत उत्पादन हुनेछ ।

सन् २००० मा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेड र लेड्कोको सहमतिपछि २०६३ फागुन १७ गते न्यादी कम्पनी खोलेर आयोजना अगाडि बढाइयो । सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्याइएको थिो ।

विद्युत उत्पादन गर्न न्यादी खोलामा बाँध बाँधेर फर्काइएको पानी करिब ४ किलोमिटर सुरुङ र साढे ७ सय मिटरको पेटस्टक पाइपबाट ठूलीबेँसीस्थित विद्युतगृहमा खसालिएको छ । आयोजनाको सिभिलतर्फको निर्माणको जिम्मा चीनको झेजियाङ हाइड्रो पावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले अध्ययन, खरिद र निर्माण (इपिसी) मोडलमा पूरा गरेको छ । कम्पनीसँग २०७३ साल माघ ३ गते ठेक्का सम्झौता गरिएको थियो ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ६ वित्तीय संस्थाले आयोजनामा लगानी गरेका छन् । नबिल, ग्लोबल आइएमई, हिमालयन, सनराइज बैंक तथा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसिएल० को लगानी छ । नेपाल विद्युत प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेको हुँदा केही दिनभित्रै व्यापारिक उत्पादन हुनेछ ।

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार १८:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८