• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026

मधेसका एकहजार बढी मतदानस्थल अतिसंवेदनशील

  • रासस

मधेसका एकहजार बढी मतदानस्थल अतिसंवेदनशील

बैशाख ९,२०७९

मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिए । विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी वर्गीकरण गरेको उनले बताए ।

यस्तै मधेसका ८२८ मतदानस्थलदाई संवेदनशील र २१२ मतदानस्थललाई समान्यको सूचीमा राखिएको छ । प्रदेशमा दुई हजार १६३ मतदानस्थलमा चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सीमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ ।

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : वैशाख ९, २०७९, शुक्रवार ०९:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८