चैत २८,२०७८
चितवन – काठमाडौं महानगरपालिकामा विवेकशील सझा पार्टीले मेयर र उपमेयरमा महिला उमेदवार अघि सारेको छ।
आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मेयरमा समिक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ।
“देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँस राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय गरेको पार्टीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।
समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै सार्वजनिक गर्ने जनाइएको छ।
“विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना ूइमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्धू महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने” विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।बिज्ञप्तिमा उल्लेख छ।
साथै उक्त पार्टीले देश-विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई सकेसम्म सकेको नैतिक, भौतिक र आर्थिक सहयोग गर्न अपिल समेत गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८