• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गोविन्द बन्दीको मन्त्रिपरिषद् प्रवेश अनैतिक र अराजनीति

  • खबरदाता

गोविन्द बन्दीको मन्त्रिपरिषद् प्रवेश अनैतिक र अराजनीति

चैत २५, २०७८

काठमाडौँ । लामो समयदेखि खाली रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कांग्रेसकै नयाँ मन्त्री थपिने आम अनुमान थियो । कांग्रेसकै नेता त आए तर नयाँ होइन, मौजुदा मन्त्रिपरिषदकै अर्को विभागबाट सरुवा भएर ।

अनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेमा सबैभन्दा पहिला आर्थिक संकटमा बेपर्वाह बस्ने अर्थमन्त्री जनार्दन शर्मालाई निकाला गरी अर्थतन्त्रका ज्ञाताहरुबाट नयाँलाई ल्याउनेछन् भन्ने आमअपेक्षा पनि गलत सावित भयो । तत्काल हेरफेर गर्नै नपर्ने कानुन मन्त्रालयको जिम्मेवारी खोसेर कांग्रेसकै दिलेन्द्र बडुलाई उद्योगमा पुर्याइयो ।

अनि कुनै राजनीतिक पृष्ठभूमि नभएका र सांसद पनि नरहेका अधिवक्ता गोविन्द बन्दीलाई कानुन मन्त्रालयको जिम्मा लगाइयो । अर्थात्, बन्दीलाई कानुन मन्त्रालय दिँदा कुन मूल्यमा दिइएको छ भन्ने यसबाट देखिन्छ । ठूलै शक्तिकेन्द्रको चासो र जोडबलमा बन्दी मन्त्रिपरिषदमा प्रवेश गरेको सहजै देख्न सकिन्छ ।

अब प्रश्न उठ्छ, बन्दी को हुन् ?

बन्दी प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा बहस गर्ने वकिल हुन् । उनले विघटनविरुद्धका रिट निवेदनको मसौदा र बहस नोटमा पनि काम गरेका थिए । पछिल्लोपल्ट अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदनका लागि भूमिका खेलका र त्यसैका निम्ति व्याख्यात्मक टिप्पणीको मसौदा गरेका कानुन व्यवसायी बन्दी हुन् ।

संक्रमणकालीन मुद्दामा पीडितको पक्षबाट पैरवी गरेर माओवादीलाई त्राहित्राहि पारेका व्यक्ति पनि बन्दी नै हुन् । द्वन्द्वकालीन ज्यादतीका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सक्नेमध्येका एकजना अधिकारकर्मीका रुपमा समेत उनलाई लिइन्छ । तर, द्वन्द्वकालीन ज्यादतीको एउटा मुख्य पक्ष माओवादी नै सहभागी मन्त्रिपरिषदमा उनी पुगेका छन् । अझ भन्दा विगतमा उनले गरेको पैरवी र मुद्दाको उठान अहिले आएर एक थान मन्त्री पदको लागि मोलमोलाइमा पुगेर टुंगिएको छ । पीडितका पक्षबाट हेर्दा योभन्दा ठूलो घात अर्को हुन सक्दैन । एउटा कानुन व्यवसायीका लागि योभन्दा ठूलो अनैतिक काम पनि अर्को हुन सक्दैन । यो त सरासर अपराध नै हो । किनभने उनले मुद्दाका एउटा पक्षको वकालत गरेर विपक्षीसँग मिल्न पुगेका छन् । यो कुनै पनि हालतमा क्षम्य होइन ।

यति मात्र होइन, यो सरकार अदालतको परमादेशबाट जन्मिएको सरकार हो । अदालतको परमादेश बन्दीसमेतले बहस गरेको मुद्दाको उपज हो । जब कुनै कानुन व्यवसायी कुनै मुद्दामा वकालत गर्छ भने उसले मुद्दाका उक्त पक्षबाट व्यावसायिकताका आधारमा तोकिएको शुल्क मात्र लिन पाउँछ । मुद्दाको परिणाममा भाग वा हिस्सा लिन पाउँदैन । यो कुरा कानुन व्यवसायीको आचारसंहिताले गम्भीर आचरणहीन काम मानेको छ । यसो गर्दा कानुन व्यवसायीको इजाजत नै खारेज हुन सक्छ । जरिवाना समेत हुन सक्छ । बन्दीले यस्तै आचरणहीन काम गरेका छन् ।

चोलेन्द्रशमशेर राणाले जसरी परमादेश जारी गरेवापत् सरकारसँग हिस्सेदारी खोजेको आरोपमा महाभियोगकै सामना गरेका छन् भने बन्दी किन पुरस्कृत भए रु जबकि बन्दी पनि त्यही तहको अभियोगमा छानबिन र कारवाहीका लागि योग्य एवं भागिदार छन् ।
देउवाको एकपछि अर्को अनैतिक कदम

राणाले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउँदा चौतर्फी आलोचना खेप्नुपर्यो र त्यो महाभियोगसम्मको विषय बन्यो । राणाले त भाग लिएका मात्र हुन् । दिने त देउवा नै थिए । अनि तिनै देउवाले राणामाथि अनैतिकताको आरोप लगाएर महाभियोग लगाउन कसरी सुहाउँछ । यदि भाग लिने व्यक्ति अनैतिक हुन् भने दिन कसरी नैतिकवान् भए र पदमा बसिरहन सकेका छन् रु परमादेशवापत् राणालाई भाग दिने तिनै देउवाले अहिले परमादेशका लागि सेटिङ मिलाएको आरोप लागेका गोविन्द बन्दीलाई मन्त्री बनाएर आरोपलाई थप पुष्टि गरेका छन् । यो अनैतिक कदममा बन्दी जति दोषी छन्, त्योभन्दा बढी दोषी देउवा छन् ।
प्रश्न सर्वोच्चमाथि पनि

हिजो केपी शर्मा ओलीले गैरसांसद मन्त्री बनाउँदा सर्वोच्चले पदमुक्त गरिदिएको थियो । तर, सर्वोच्चको त्यही आदेशविपरीत देउवाले जनप्रतिनिधि हुँदाहुँदै गैरसांसदलाई मन्त्री बनाएका छन् । यसमा सर्वोच्चले अब के गर्छ भन्ने प्रश्न उब्जिन्छ ।

 

यी हर्कतहरुबाट देउवाले तत्काल राहतको अनुभूति गरेका होलान् । लोकतान्त्रिक मूल्य–मान्यता र नेपाली कांग्रेसको आदर्शबाट च्युत भएका प्रमाण पनि हुन् यी । त्यसैले देउवाको राजनीतिक पतनका संकेत हुन् यी ।

  • प्रकाशित मिति : चैत २५, २०७८, शुक्रवार ०६:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८