• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

दुग्ध सहकारीको मनपरीले साना डेरी व्यवसायी मर्कामा

  • खबरदाता

दुग्ध सहकारीको मनपरीले साना डेरी व्यवसायी मर्कामा

 

चैत २३,२०७८

चितवन । चितवनका दुग्ध सहकारीहरुले मूल्यमा मनपरी गर्दा साना डेरी व्यवसायीहरु मर्कामा परेको बताएका छन्।

सहकारीहरुले विक्रि गर्ने दूधको मूल्यमा एकरुपता नहुँदा उपभोक्ता समेत ठगिनु परेको र आफूहरु समेत समस्यामा परेको नेपाल साना डेरी व्यवसायी संघ भरतपुर चितवनले बताएको छ । संघले आज पत्रकार सम्मेलन गरी सहकारीले उद्योगलाई फ्याटको आधारमा विक्रि गर्ने र डेरीहरुलाई भने लिटरको आधारमा विक्रि गर्नेगरेको गुनासो गरेका हुन् ।

संघका अध्यक्ष रामचन्द्र सेढाइले पटक पटक दुग्ध सहकारी संघमा कुरा राखेपनि सम्वोधन नभएपछि पत्रकार सम्मेलन गरेको बताए। सरकारले तोकेको मूल्य प्रतिलिटर ८६ रुपैयाँ उपभोक्ताबाट लिनपाउने भएपनि सहकारीले व्यवसायीपिच्छे फरक फरक मूल्यमा विक्रि गर्दा एकरुपता ल्याउन नसकेको बताए । त्यस्तै पछिल्लो समय दर्ता नगरी विना मापदण्डको दूध तथा दुग्धजन्य वस्तु छ्यापछ्याप्ती घुमाएर घरघरमानै पुर्‍याएर विक्रिवितरण भइरहेपनि प्रशासन मौन रहेको उनको भनाई थियो ।

डुलाएर दूध बेच्ने व्यवसायीहरुको विक्रि केन्द्र निश्चित नहुँदा राज्यलाई आउने कर समेत गुमेको र गुणस्तर नभए कसलाइ सम्पर्क गर्ने भन्ने अन्यौलताको वातावरण भएकाले यसको व्यवस्थापनमा सरकारले ध्यान दिन सेढाइको आग्रह छ । सरकारी निकायमा दर्ता भएर संचालित डेरीहरुले दुधको गुणस्तरमा ध्यान दिएको बताउँदै डुलेर विक्रि गर्नेहरुले गुणस्तर कायम गरेनगरेको अनुगमन हुन नसकेको संघले जनाएको छ । संघका अध्यक्ष सेढाइले भने,“डेरीबाट लगेको दुधमा कैफियत भए सिधै गुनासो गर्न मिल्यो तर डुलेर विक्रि गर्नेहरुलाई कसरी गुनासो गर्ने रु प्रशासनले ध्यान दिओस् ।”

संस्थाका सल्लाहकार लोकनाथ सापकोटाले सफा र स्वस्थ दूध खुवाउने लक्ष्य अनुसार संघ चलेको तर प्रभावकारी अनुगमन र डुलाएर विक्रि गर्नेहरुको व्यवस्थापनमा सम्वन्धीत सहकारी र प्रशानसको सक्रियता नहुँदा समस्या भएको बताए। २०६८र०६९ मा दर्ता भएको संघमा अहिले १६५ डेरी व्यवसायीहरु आवद्ध छन् । विगतमा प्रति दिन करिव ८० हजार लिटर दुध कारोवार हुँदै आएकोमा अहिले ५० हजार लिटरमा झरेको र वाँकी ३० हजार लिटर अनाधिकृत तवरले बजारमा विक्रि वितरण भइरहेको संघले जनाएको छ ।

कारोबार बढ्नु पर्नेमा घट्दै जानाले डेरी व्यवसायमा आश्रित परिवार प्रत्यक्ष मारमा हुने र अप्रत्यक्ष रूपमा डेरी व्यवसायीले खरिद गरी ल्याउने दुग्ध किसान र त्यसमा आश्रित परिवार समेत बेरोजगारमा परेको भन्दै तत्काल सुधार गर्न माग गरेका हुन् । चितवन जिल्लामा संचालित सहकारीहरुको हकमा हरेक सहकारीको फरक फरक दररेट कायम भएको हुँदा व्यवसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा हुन जाने र उपभोक्ताले स्वस्थ दूध उपभोग गर्न पाउने अधिकारमा पनि समस्या उत्पन्न हुन गएको संघले ठहर गरेको छ ।

व्यवसायीहरु एकातिर राज्यलाई कर, घरभाडा, कर्मचारीको तलब दिन नसकेर मर्कामा छन् भने अर्कोतिर सहजरुपमा आफ्नो व्यवसाय गर्न नपाएर मर्कामा परेका छन् । सस्तोको नाममा घुमन्ते व्यवसायीको चपेटामा परेर डेरी व्यवसाय धरासयी बनिरहेको संघका अध्यक्ष सेढाइको भनाई थियो । पत्रकार सम्मेलन कार्यक्रम संघका सचिव चन्द्रप्रकाश अधिकारीले सहजीकरण गरेका थिए ।

  • प्रकाशित मिति : चैत २३, २०७८, बुधवार २०:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८