चैत १९,२०७८
चितवन – भारतबाट आएर सस्तो दर रेटमा काम गरिदिदा चितवनका स्वरोजगार निर्माण व्यवसायीहरु मारमा परेका छन।
उनीहरुले सूचिकृत नभएका ठेकेदारका कारण काम नपाइएको र लागत भन्दा सस्तोमा काम गर्नुपरेको गुनासो गरेका छन् । चितवन स्वरोजगार निर्माण संघको ८ औं वार्षिक साधरसभामा बोल्दै अध्यक्ष कृष्णबहादुर पौडेलले सूचिकृत नभएका ठेकेदारका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको बताए। भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम समेत नलिएका मजदुरहरु मार्फत सस्तो दररेटमा निर्माण काम लिदा स्वदेशी ठेकेदारहरु मारमा परेको बताए।
निर्वतमान अध्यक्ष शुक्रबहादुर मिजारले दररेटमै अस्वभाविक कमि गरिँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए । घर निर्माण गर्दा प्रति स्क्वायर फिट २ सय २० देखि २ सय ८० रुपैयाँ हुनुपर्नेमा १ सय ७० देखि १ सय ९० रुपैयाँसम्म ठेक्का लिने प्रचलन बढेको उनको भनाइ थियो । मजदुरको ज्याल बढेपनि निर्माणको रकम नबढ्दा समस्या आएको उनले बताए ।
भरतपुर महानगरका इञ्जिनियर सूर्यप्रकाश लामाले भूकम्प प्रतिरोधात्मक भवन संरचना निर्माण गर्न सबैलाइ तालिम र सचेतना दिन महानगर प्रतिवद्ध रहेको बताए। नक्सा पास विना भवन, पुल निर्माण गर्न नपाइने भएकाले मापदण्ड पालना गराउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । कार्यक्रममा निर्माण व्यवसायी जिल्ला समन्वय समितिका अध्यक्ष उत्तम घिमिरे, प्रवक्ता केदारनाथ अधिकारी, चितवन निर्माण सेवा संघका अध्यक्ष कुलबहादुर राई, चितवन स्वरोजगार निर्माण संघका लेखा समिति संयोजक चेतनारायण श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । साधरणसभामा सचिव गौतम बहादुर नेपाली, कोषाध्यक्ष रामबहादुर मगरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थियो ।
उक्त कार्यक्रममा करिब २० वर्ष ढलान व्यवसाय गर्दै आएका भरतपुर(१० का कृष्णबहादुर भण्डारीलाइ २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । भण्डारी डेढ वर्षदेखि मृगौला रोगको उपचार गराउदै आएका छन । यस्तै कार्यलय भवन निर्माणमा सहयोग गर्ने १४ जनालाई सम्मान गरिएको छ । भरतपुर(११ भोजाडमा जग्गा भाडामा लिएर संघको कार्यालय भवन निर्माण कार्य जारी छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८