• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एकैपटक चितवनका आठ कुखुरा फार्ममा भेटियो बर्डफ्लु

  • खबरदाता

एकैपटक चितवनका आठ कुखुरा फार्ममा भेटियो बर्डफ्लु

चैत १८,२०७८

भरतपुर । चितवन भित्र एकैपटक आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ।

जिल्लाको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो । भरतपुरका चार र खैरहनीका चार फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ स्थित किरण प्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी–६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लु भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए ।

त्यस्तै, भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल भुसाल र चन्द्र भुसालको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–१६ स्थित एजे पोल्ट्री फार्म र भरतपुर–२३ अभिशेक रामदामको कुखुरा फार्ममा पनि बर्डफ्लु भेटिएको उनले बताए ।

बर्डफ्लु रोग नियन्त्रणका लागि बर्डफ्लु भेटिएका फार्म आसपासका पक्षी तथा पक्षीजन्य सामग्री पनि नष्ट गर्ने निर्णय गरिएको छ । पशु सेवा विभागको पत्रानुसार बर्डफ्लु नियन्त्रण समितिले उक्त निर्णय गरेको हो ।

प्रभावित क्षेत्रभित्र बर्डफ्लु नियन्त्रण गर्न सो क्षेत्रको सात किलोमिटर परिधिमा नियमित निगरानी राख्ने निर्णय भएको छ । त्यस्तै, पक्षी र पक्षीजन्य सामग्री नष्ट गर्दा नोक्सानी व्यहोरेका व्यक्तिलाई राहतका लागि कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुरोध गर्ने र बर्डफ्लु नियन्त्रणमा खटिने जनशक्तिको स्वास्थ्य निगरानीको लागि स्वास्थ्य कार्यालय मार्फत सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखालाई अनुरोध गर्ने निर्णय भएको छ ।

बर्डफ्लु प्रभावित क्षेत्र वा निगरानी क्षेत्रबाट रोग सार्न सक्ने पक्षी वा पक्षीजन्य सामग्रीको ओसारपसारमा रोक लगाइएको छ । शंकास्पद पक्षीमा रोगको यकिन गर्न रेपिड टेस्ट किट परीक्षण गर्ने निर्णय पनि भएको छ ।

  • प्रकाशित मिति : चैत १८, २०७८, शुक्रवार १६:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८