• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण

  • रासस

पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण

 

चैत १८,२०७८

चितवन – प्रदेश प्रमुखको यहाँ सम्पन्न बैठकले पिछडिएका लोपोन्मुख समुदायको संरक्षण गर्न ध्यानाकर्षण गराएको छ । सौराहामा बिहीबार सम्पन्न बैठकले सिमान्तकृत, पिछडिएका, लोपोन्मुख समुदायको पहिचान, संरक्षण, सम्वद्र्धन र विकासलगायत काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।

बागमती प्रदेशको प्रदेश प्रमुखको कार्यालयले आयोजना गरेको बैठकमा सात वटै प्रदेशका प्रदेश प्रमुख, कार्यालय सचिव र निजी सचिवको सहभागिता रहेको थियो । बागमती प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी इन्दिरा पौडेलले प्रदेश सरकारले लोपोन्मुख समुदायको पहिचान तथा खोजी गरी नीति तथा कार्यक्रम, योजना बनाउन अनुरोध गरिएको बताए ।

पछाडि पारिएका समुदायको विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम बनाउन आग्रह गरिएको छ । प्रदेश सरकारले गर्ने कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयसँग समन्वय नगरेको भन्दै समन्वय गर्नुपर्नेमा समेत छलफल गरिएको थियो । “प्रदेश सरकारले गर्ने कार्यक्रमबारे लिखितरुपमा जानकारी गराउनुपर्ने व्यवस्था छ, तर मौखिक जानकारी मात्रै आइपुग्छ”, उनले भने ।

प्रदेश मन्त्रिपरिषद्का निर्णयमा समेत लिखित जानकारी नआएको भन्दै समन्वयका लागि अपिल गरिएको छ । प्रदेश प्रमुखको हाल मर्यादाक्रम सातौँ र आठौँ स्थानमा राखिएकामा त्यसलाई सच्याउनसमेत बैठकले सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।

बैठकले हरेक छ महिनामा प्रदेश प्रमुखको बैठक बोलाउने गरी कार्यविधि पास गरेको छ । प्रदेश प्रमुखको बैठक आलोपालो गरी बोलाउने कार्यविधिमा उल्लेख छ । सातै प्रदेशकै विकासको सम्भावना र पहिचानका बारेमा खोजी गरी सङ्घीय सरकारलाई सुझाव दिने निर्णयसमेत गरिएको छ।

  • प्रकाशित मिति : चैत १८, २०७८, शुक्रवार ०७:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८