चैत १२,२०७८
चितवन । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनको लागि ५ हजार बढीले आबेदन दिएका छन।
आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो ।
आबेदन दिने अन्तिम दिन चैत ११ गते एक हजार २७ पुरुष र २९३ महिला गरी एक हजार ३२० जनाले प्रहरीका लागि आवेदन दिएका थिए । सो संख्या सहित चार हजार ३३ पुरुष र एक हजार ४३३ महिला गरी जम्मा पाँच हजार ४६६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
चितवनमा चैत ६ गतेदेखि म्यादी प्रहरीको लागि आवेदन खुला गरिएको थियो । आवेदन खुला भएसँगै म्यादी प्रहरीको लागि आवेदन दिनेको भिड लागेको थियो ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले म्यादी प्रहरीका लागि फाराम भर्न सक्ने भनिएको थियो । आवेदन दिएर छनोट भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् ।
आवेदन दिएकाले चैत १३ गते प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्ने अधिकारीले बताए । चैत १५ गतेदेखि शारीरिक परीक्षण गरेर चैत २२ गते म्यादी प्रहरीको अन्तिम नामावली प्रकाशन गरिनेछ । म्यादी प्रहरीलाई चैत २८ गतेदेखि तालिम दिएर स्थानीय तहको चुनावमा ४० दिन काममा खटाइनेछ । म्यादी प्रहरीले तलब, पोसाक भत्ता, अन्य सामग्री खरिदका लागि ४० दिनको ४४ हजार ४४० रुपैयाँ पाउनेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८