• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

म्यादी बन्ने रहर : दर्खास्त दिनेमा बच्चाका आमा देखि अस्ट्रेलिया जाने बिद्यार्थि सम्म

  • केपी शर्मा

म्यादी बन्ने रहर : दर्खास्त दिनेमा बच्चाका आमा देखि अस्ट्रेलिया जाने बिद्यार्थि सम्म

चैत ६,२०७८

 

चितवन – आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि भन्दै सरकारले आइतबारबाट म्यादी प्रहरीमा दर्खास्त खुल्ला गरेको छ।

चितवन लगायतका देशभरकै जिल्ला प्रहरी कार्यालयमा बिहानै देखि दर्खास्त दिनेको भिड लागेको छ।

दर्खास्त दिने लाइनमा बच्चाका आमा देखि वैदेशिक रोजगारबाट फर्किएका र उच्च शिक्षा अध्ययनको लागि जाने तयारी गरिरहेका सम्म रहेका छन।

स्नातक सकेर बसेका प्रबिन गुरुङ म्यादी प्रहरीमा जागीर खान जिल्ला प्रहरी कार्यालय चितवनको गेट बाहिर भेटिए। अहिले खाली भएको बेला केहि काम गर्न पाए समयको सदुपयोग हुने उनको तर्क थियो। तनहुँका गुरुङ अस्ट्रेलिया जानको लागि तयारी गर्दै थिए । भर्खरै मात्र आइएलटियसको परिक्षा दिएर बसेको सुनाउँदै रिजल्ट आइन्जेल भए पनि जागीर खाने बिचार लागेको उनले बताए ।

यस्तै जापान जाने तयारी गर्दै आएका प्रदिप खत्री पनि म्यादी प्रहरीमा जागिर खान फायल बोकेर लाइनमै थिए।खाली बस्नु भन्दा केहि काम गर्न पाए पैसा पनि सिप पनि हुने बिचारले म्यादीमा भर्ना हुन आएको उनले बताए ।जापान जाने भाषा पढ्दै गरेका खत्रीले म्यादीमा भर्ना हुन पाए केहि समय भाषाको कक्षा स्थगित गर्ने बताए । अहिले सम्म आफुले कमाएर घरमा केहि पनि दिन नसकेको र बिदेश जानेबेलामा अलिकति पैसा कमाएर दिन पाए छोराले केहि गर्यो भन्ने हुने उनको भनाइ थियो।

भरतपुर १६ कि पुजा गुरुङ पनि सानो बच्चा बोकेर लाइनमै थिइन।हातमा फायल बोकेकि पुजालाइ चर्को घाममा बच्चाले हैरान पारिरहेको थियो। काम नगरी बस्नु भन्दा केहि गर्न र सिक्नका लागि जागिर खान आएको उनले बताइन। सरकारी जागीर खाएपछि समाजको हेर्ने दृस्टिकोण फरक हुने उनको बिचार थियो।

सारदानगरकी ३० वर्षिय मन्जु तामाङ पनि एउटा बच्चा च्यापेर म्यादी प्रहरीको दर्खास्त दिने लाइनमै थिइन। उनी आफु म्यादीमा भर्ना हुनेमा ढुक्क थिइन। पहिले पनि प्रहरीमा जागिर खाने रहर भएको तर सानैमा बिवाहा भएकोले सपना पुरा हुन नसकेको र अब छोटो समयको लागि भएपनि धोको पुरा गर्ने उनले बताइन।

यस्तै दुइ महिना अधि मात्र मलेसियाबाट आएका सुर्य बहादुर सेन पनि जागिरकै लागि भन्दै लाइनमै भेटिए।बिदेशमा दिनभर डिउटि गर्ने बानि परेको र नेपाल आएपछि काम नभएकोले गर्दा समयको सदुपयोग पनि हुने आम्दानी पनि हुने भनेर म्यादीमा भर्ना हुन आएको उनले बताए ।

चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ। चैत ६ गते देखि ११ गते सम्म दर्खास्तको लागि समय तोकिएको छ।

सरकारले तोकेको मापदण्ड अनुसार म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष सम्मका नेपाली नागरीकले दर्खास्त बुझाउन सक्ने छन।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । सरकारले ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

  • प्रकाशित मिति : चैत ६, २०७८, आइतवार १४:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८