• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सभामुखको रुचिमा राणाबिरुद्धको महाभियोग संसदमा !

  • खबरदाता

सभामुखको रुचिमा राणाबिरुद्धको महाभियोग संसदमा !

फाल्गुन ३०, २०७८

 

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभाको बैठकमा छलफलका लागि पेस भएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेस गरेका हुन् । सत्ता गठबन्धनका ९८ जना सांसदले फागुन १ गते संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

यो प्रस्ताव अध्ययन र छानबिनका लागि प्रतिनिधि सभाले एक साताअघि ११ सदस्यीय सिफारिस समिति गठन गरिसकेको थियो । त्यसमा सामान्य छलफल पनि त्यही दिन भइसकेको हो । समिति गठन गरिसकेपछि अहिले फेरि सदनमा किन छलफल गरिँदै छ रु गम्भीर प्रश्न उब्जाएको छ ।

समितिमा हुनुपर्ने छलफल पूर्ण सदनमा छलफल गराउनुमा माओवादी र यही पार्टीबाट सभामुख बनेका अग्नि सापकोटाको विशेष रुचि जोडिएको देखिन्छ । माओवादी र सभामुखको पहिलो स्वार्थ हो एमालेलाई गलाउने । किनभने एमालेले सभामुखको राजीनामा माग गरी गत भदौ २३ देखि लगातार सदनमै विरोध र प्रदर्शन जारी राखेको छ । तर यही सभाले गठन गरेको महाभियोग सिफारिस समितिमा उसले चार सांसदको नाम पठाएको छ । समितिमा एमाले सामेल भइसकेकाले अब संसदीय प्रक्रियामा अवरोध वा बहिष्कार गर्नुको औचित्य छैन भनेर देखाउनु सभामुख सापकोटा र माओवादीको पहिलो स्वार्थ हो ।

दोस्रो माओवादीले एमालेलाई राणाजस्ता विवादित छविका प्रधानन्यायाधीशको पक्षपोषणमा एमाले लागेको छ भनेर जनतामाझ देखाउन चाहेको छ । दिनदिनै सदनमा राणाविरुद्ध अन्य सांसदलाई बोल्न लगाउने र एमालेले त्यसमा विरोध जनाएको देखाउने माओवादी इरादा देखिएको छ । यसमा केही हदसम्म सफल पनि भएको देखिन्छ ।

तेस्रो एमालेको समर्थनबिना महाभियोग पारित हुने अवस्था नरहेकाले माओवादी र सभामुख सापकोटाले समितिमा पठाउनुअगावै राणाका विरुद्धमा माहोल सिर्जना गर्न यो रणनीति अपनाएको देखिन्छ । संसदमा छलफल लम्ब्याएर राणालाई सकेसम्म नंग्याउने र समितिमा सके एमालेलाई महाभियोगको समर्थन गर्न बाध्य पार्ने, नभए यस्ता भ्रष्ट प्रधानन्यायाधीशलाई एमालेले समर्थन गर्‍यो भनेर हल्ला पिटाउने उसको दाउ देखिन्छ । यही कारण प्रतिनिधि सभा नियमावलीको अस्पष्टतामा खेलेर छानबिन हुनुअगावै सभामुख सापकोटाले महाभियोगमाथि सांसदहरुका अन्त्यहीन धारणा राख्न दिने तालिका तय गरेका छन् । तालिका अनुसार, प्रस्तावको सैद्धान्तिक पक्षमाथि प्रतिनिधिसभाको चैत २ गते बस्ने बैठकमा छलफल हुनेछ ।

हुन पनि पारित नहुने महाभियोग छिटो समितिमा पठाएर सत्ता गठबन्धनको उद्देश्य पूरा हुने देखिँदैन । किनभने समितिले काम थालेपछि ३ महिनाभित्र काम सक्नुपर्ने समयसीमाको गणना सुरु हुन्छ । एमालेले महाभियोगमा समर्थन नगरे ३ महिनापछि राणा पुनः प्रधानन्यायाधीशका रुपमा अदालत फर्किने सम्भावना रहन्छ । गठबन्धनले तीन महिनाभित्र अदालतबाट धेरै काम गराइसक्नुपर्नेछ । जस्तो एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदविरुद्धको कारवाही र त्यसमा सभामुख सापकोटाको भूमिकासम्बन्धी विवाद एउटा मुद्दा हो, जसलाई आइतबार नै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले आइतबार चैत २० गते पूर्ण सुनुवाइ हुने गरी पेस गर्न आदेश गरेको छ । त्यस्तै संवैधानिक परिषदसम्बन्धी मुद्दा पनि सत्ता गठबन्धनले तत्काल टुंग्याउन चाहेको छ ।

माधव नेपाल र बाबुराम भट्टराई जोडिएको ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा पनि भविष्यमा कहिल्यै आफ्नो विपक्षमा प्रयोग नहोस् भन्ने हेतुले अहिले नै छिनोफानो गर्न खोजेका छन् । त्यसैले महाभियोग लम्ब्याउने र अदालतमा आफ्नो प्रभाव कायम राख्ने दाउ सत्ता गठबन्धनका सबै घटकमा देखिन्छ ।

महाभियोगलाई समितिमा पठाएर यही शैली विधेयक अगाडि बढाउन प्रयोग गर्ने हो भने मुलुकले त्राण पाउन सक्थ्यो । लामो समयदेखि संसदमा अड्किएका विधेयक अगाडि बढाउन पनि एमसीसी र महाभियोगमा जत्तिकै रुचि र सक्रियता सरकारले देखाएको भए अहिलेसम्म परिस्थिति निकै फरक भइसक्थ्यो । प्रतिनिधि सभा पुनर्स्थापना गर्नुको पनि औचित्य रहन्थ्यो ।

हिजो यही सभा फर्काउनका लागि लडेको पनि अर्थ रहन्थ्यो । तर अहिले जसरी एमाले यस संसदलाई औचित्यहीन प्रमाणित गर्न लागिपरेको छ, त्योभन्दा बढी यसलाई निकम्मा देखाउन कांग्रेस र सत्ता गठबन्धन लागिपरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उनको नेतृत्वको सरकारलाई त के छ र ? संसदमा प्रतिपक्षीको गनगन सुन्नुपरेको छैन । सरकारमाथि खनिनुपर्ने एमाले सभामुखका विरूद्ध नारा लगाएर दिन कटाइरहेको छ ।

  • प्रकाशित मिति : फागुन ३०, २०७८, सोमवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८