फागुन २९,२०७८
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्र करिब ३५ मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणले अहिले उद्योगलाई करिब ८ मेगावाट विद्युत् आपूर्ति दिइरहेको छ ।
उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् लैजान आवश्यक सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी एक महिनाभित्र थप २७ मेगावाटसहित ३५ मेगावाट विद्युत् दिन लागेको हो ।
उद्योगसम्म विद्युत् लैजान कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारको काम अन्तिम चरणमा पु-याएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ ।
टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टिलको भ्रमण गरी एक महिनाभित्र विद्युत् आपूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।
‘विद्युत् खपत बढाउन उद्योगलाई मागेजति विद्युत् दिइरहेका छौँ । औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधार निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रूपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । अम्बे स्टिलले विद्युत् जडानका लागि आफ्ना पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु-याएकाले आवश्यक तयारी पूरा गर्नासाथ विद्युत् आपूर्ति दिन सकिन्छ उनको भनाइ छ ।
उनले अम्बे स्टिल सञ्चालित क्षेत्रमा अन्य उद्योग पनि खुल्ने र उक्त क्षेत्र औद्योगिक करिडोरका रूपमा विकास हुन लागेकाले त्यहाँ १३२ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाइएको बताए । सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरिएको छ । एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण सम्झौता भइसकेको छ ।
अहिले रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करिब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सबस्टेसनमार्फत आगामी दिनमा उद्योगलाई विद्युत् आपूर्ति दिइनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८