फागुन २६,२०७८
वीरगञ्ज – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने प्रस्ट्याएका छन्।
उनले कांग्रेसले वीरगञ्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा गठबन्धनका दलहरुलाई बेवास्ता गर्न नसकिने र मिलेर चुनाव लडेमात्र स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार बनाउने स्थिति आउने बताए।
उनले गठबन्धनका रहेका दलहरुलाई नचिढ्याउन पनि नेताकार्यकर्ताहरुसँग आग्रह गरे। बुधबारमात्र बागमती प्रदेशस्तरीय भेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुलाई संकेत गर्दै आफूलाई अपमानित नगर्न चेतावनी दिएका थिए। उनले आफूले कांग्रेसलाई सिंहासनमा बसाइदिएको पनि बताएका थिए।
कांग्रेस सभापति देउवाले प्रचण्डको उक्त भनाइ स्वीकार गरेका थिए। उनले वीरगञ्जमा भने( ‘वास्तवमा यसपालि मैले प्रधानमन्त्री हुन खोजेकै थिइनँ। माओवादी, माधव नेपालजी, जसपालगायत गठबन्धनका सबै साथीहरूले सहयोग गरेर म प्रधानमन्त्री भएको हुँ।’
आगामी निर्वाचनमा कुनै पनि दलले एक्लै बहुमत ल्याउने अवस्था नरहेको पनि देउवाले कार्यकर्तामाझ बताए।
उनले गाउँ तथा जिल्लामा केही समस्या भए बसेर सुल्झाउने भन्दै गठबन्धनकै पक्षमा मत जाहेर गरेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औँ राष्ट्रिय महाधिवेशन तथा २२औँ राष्ट्रिय महिला उद्यमी सम्मेलन उद्घाटन गर्न बिहीबार वीरगन्ज आइपुगेका प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदानबापतको रकमले देश विकास र रोजगार बढाउने दाबी पनि गरे।
उनले एमसीसी सम्झौताअनुसार आउने अनुदानबापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने बताए। ‘एमसीसीको पैसा ऋणमा आएको होइन, यसबाट देश विकास गरी रोजगारी बढ्नेछ, देशको विकास हुन्छ,’ उनले भने।
सबै पार्टीको सहयोगमा एमसीसी पास भएकाले यसलाई सकेसम्म सदुपयोग गरी अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८