फाल्गुन १३, २०७८
नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीसँगको सहयात्रा सकिएको निष्कर्ष निकालिसकेको छ । सहयात्रा सकिएको मात्र होइन । अब यी दुवै बाम घटकसँग शत्रुतापूर्ण सम्बन्ध बनिसकेको छ । तैपनि वैकल्पिक साझेदार भेटिइसकेको छैन ।
नेकपा एमालेसँग कांग्रेसले निकै धेरै चरणमा वार्ता गरे पनि सफल भएको छैन । एमाले आफ्ना अडानमा टसमस देखिएको छैन । संसदमा आफ्नो पोजिसन बलियो नबनाई प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अघि बढाउने पक्षमा छैनन् ।
देउवाले आफ्नो तर्फबाट सकेको प्रयास गरिसकेका छन् । अब धेरै कुरा उनको काबुभित्र पनि छैन । उनले आफू र आफ्नो पार्टी एमसीसीमा दृढ रहेको कुरा दातृ राष्ट्र अमेरिकासामु पनि पुष्टि गरिसके । अब योभन्दा अगाडि बढेर स्वदेशका आफ्ना शुभचिन्तक शक्ति र संगठनको शुभेच्छा पनि गुमाउनु छैन । चुनावको मुखमा थप मतदाता चिढ्याउन पनि उनी चाहन्नन् ।
एमसीसीलाई चिनियाँले चाहेको छैन भन्ने स्पष्ट भइसकेको छ । अमेरिकाले दबाब दिनुका पछाडि उसको रणनीतिक स्वार्थ लुकेको पनि झन् स्पष्ट हुँदै छ । यस्तो अवस्थामा भूराजनीतिक सन्तुलन कायम गर्न कठिन छ । अब देउवा आफ्नो भावी राजनीति थप जोखिममा पार्न चाहँदैनन् ।
कांग्रेस र माओवादीले बोक्न नसकेको एमसीसीको भारी एमालेले उठाएर नयाँ टन्टा सुरु गर्न चाहेको छैन । बरु यो मामिलाबाट टाढै बस्न पाउने छूट एमालेले मात्र पाएको छ । त्यसैले उसले सत्ता गठबन्धनभित्रको समस्या देखाएर आफू पन्छिन पाइरहेको छ । त्यसैले उसले माओवादी र कांग्रेससँग समदूरीमा रहेर वार्ता गरिरहेको छ ।
अहिले आफ्ना मुद्दामा कोही स्पष्ट छ भने त्यो एमाले नै हो । उसले आफूप्रति पक्षपातपूर्ण व्यवहार गर्ने सभामुखलाई हटाउन चाहेको छ । कांग्रेससँग मिल्दा उसले सभामुख सापकोटाविरुद्ध महाभियोग लगाउनुपर्ने अडान राखिरहेको छ भने माओवादीसँग मिल्दा सभामुखको राजीनामा ।
त्यस्तै प्रचण्डसँगको वार्तामा विगतमा एउटै पार्टीमा छँदा लगाएको १९ बुँदे आरोप फिर्ता लिनुपर्ने अडान पनि एमालेको छ । साथै माधव नेपालसहित १४ सांसदलाई आफूले गरेको कारवाहीको सूचना संसद सचिवालयबाट प्रकाशित हुनुपर्यो भन्ने उसको सर्त कांग्रेस र माओवादी दुवै पक्षसँग छ ।
माओवादीले एमालेलाई बाम ध्रुवीकरणको भावनात्मक कुरामा भुलाउन खोजेको छ । यसका पछाडि केही चिनियाँ प्रेरणा पनि हुन सक्छ । यदि नयाँ प्रधानमन्त्री नियुक्तिको सहज विकल्प हुन्थ्यो भने अहिलेसम्म प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिसकेका हुन्थे । देउवा संविधानका अन्तिम विकल्पबाट जन्मिएका प्रधानमन्त्री भएकाले उनलाई हटाएर आफू स्थापित हुने ठाउँ ओलीले कमजोर देखेका छन् । त्यसैले पनि उनलाई एमसीसीमा हतारिनुपरेको छैन ।
देउवाले अमेरिकीसामु आफूले प्रयास गरेको देखाइसके । प्रचण्डले चिनियाँसामु एमसीसी रोक्न सकेको प्रयास गरेको देखाएर साखुल्ले भइसके । एमालेलाई एमसीसी पास होस् कि फेल भन्ने कुनै मतलब छैन । बरु जतिसक्दो चाँडो चुनाव होस् भन्ने एक मात्र कामना एमालेले गरिरहेको छ ।
पछिल्लो समय एमालेको यस कामनामा प्रचण्ड र देउवा दुवैको झुकाव बढ्दै गएजस्तो देखिन्छ । यो संसदले कुनै पनि निर्णय गर्न नसक्ने निष्कर्षका साथ अर्ली इलेक्सनमा जाने सम्भावना बढेको छ । यसो भएमा कांग्रेस र माओवादीले एमसीसीको थेगिनसक्नु भारी बिसाउने मौका पाउनेछन् र चुनावमा पनि राहतको सास फेर्नेछन् । एमालेका निम्ति न सभामुख रहनेछन्, न त आफूले कारवाही गरेका माधव नेपालसहित १४ सांसद नै । यस हिसाबले हेर्दा उसका दुवै मुख्य माग पूरा हुनेछन् ।
यी सबै परिदृश्य हेर्दा अब मुलुक चुनावको माहोलतिर धकेलिनेछ । मौजुदा संसदको कार्यकाल अबको ६ महिनाभन्दा बढी जान नसक्ने गरी राजनीतिक नेतृत्वले आफ्नो तयारी अघि बढाएको देखिन्छ । र अब एमसीसी कसैको पनि प्राथमिकताको मुद्दा होइन भन्दा अत्युक्ति हुने छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८