पुस ३०,२०७८
निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचन सम्बन्धी ऐन कानूनका विषयमा प्रमुख राजनीतिक दलसँग परामर्श गर्न आयोगले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा संघ ,प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रणा गरिएको छ ।
सरकारलाई परामर्श दिनुअघि आयोगले राजनीतिक दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको हो । निर्वाचन कानुनमा सरकारलाई आयोगले परामर्श दिनुपर्ने व्यवस्था छ ।स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलन बैठकमा प्रमुख तीन एजेन्डामा रहेका छन् ।
संघीयता कार्यान्वयन भएपछि पहिलो पटक निर्वाचित स्थानीय तहको निर्वाचन तयारी आयोगले थालेको छ । त्यसअघि आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहको पदाधिकारीको पदावधि २०७९ जेठ ५ गते सकिँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार पदावधि सकिनुभन्दा २ महिनाअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । संविधानमा भने पदावधि सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
आयोगले पनि पदावधि सकिनुअघि नै निर्वाचन गर्न जेठ १४ देखि २२ गतेसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव सरकारलाई राखिसकेको छ । सरकारले भने यसबारे कुनै निर्णय गरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने जानकारी दिएका थिए ।
कानूनी जटिलता फुकाउन दलहरुले अग्रसरता नलिँदा स्थानीय निकायको निर्वाचन पर धकेलिन सक्ने देखिएको छ। बैशाखमा चुनाव नभए स्थानीय निकाय जनप्रतिनिधि विहिन हुने छ ।
निर्वाचन अयोगले चुनावको लागि ९० दिनको समय चाहिने भनेको छ तर अहिलेसम्म सरकारले चुनावकोबारेमा गम्भीर भएर छलफलसम्म गरेको छैन । संविधान र स्थानीय निर्वाचन ऐन बाझिँदा वैशाखमा निर्वाचन गर्न संवैधानिक र कानूनी जटिलता देखिएको छ। त्यसो त तेस्रो चरणको कोरोना संक्रमणले पनि निर्वाचनलाइ असर गर्न सक्ने अनुमान गर्न थालिएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८