[ फाेटाे : ???????????????????????????????????? ]
पुस २५,२०७८
बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा बनाइएका आठ करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ ।
लुम्बिनी इँटा व्यवसायी सङ्घ भैरहवाका अनुसार गत हप्ता परेको वर्षाले रुपन्देहीका ४७ वटा इँटा उद्योगका आठ करोड मूल्य बराबरको इँटा गलेर नष्ट भएको हो ।
वर्षाका कारण जिल्लाका सबै इँटा उद्योगमा क्षति पुगेको लुम्बिनी इँटा व्यवसायी सङ्घले जनाएको छ । यी उद्योगमा रहेका तीन करोड २५ लाख गोटा काँचो इँटा नष्ट भएको उद्योगीहरूको भनाइ छ ।
वर्षाका कारणले गलेर इँटा नष्ट हुँदा अहिले मात्रै आठ करोडभन्दा बढीको नोक्सानी इँटा व्यवसायीहरूलाई भएको प्रारम्भिक अनुमान गरिएको इँटा व्यवसायी सङ्घ लुम्बिनीका महासचिव अजयकुमार गुप्ताले बताए । अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँटा गलेर नोक्सानी भएको उनको भनाइ छ ।
काँचो इँटाको बीमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको व्यवसायीहरुको माग रहेको छ । रुपन्देहीमा उत्पादन हुने इँटाहरू जिल्लासँगसँगै पाल्पा र स्याङ्जामा बिक्री हुने गरेको छ।
मङ्सिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय भएको र त्यसपछिको छ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा इँटाको अभाव हुन नदिन आफूहरू लागिपरेको सङ्घले जानकारी दिएको छ । अब नयाँ इँटा उत्पादन हुन एक महिना ढिलाइ हुने देखिएको छ ।
रुपन्देहीमा सञ्चालित इँटा उद्योगमा करिब रु १० अर्ब लगानी छ भने आठ हजारभन्दा बढी मजदुर कार्यरत छन् ।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८