जिल्लामा जुनसुकै पदका लागि जतिसुकै उम्मेदवार तोकिएपनि केन्द्रको निर्णय हावी हुँदा एमाले भित्रको आन्तरिक लोकतन्त्रको खम्बा धरमराएको कार्यकर्ताकै गुनासो छ । चितवनमा पनि प्रतिस्पर्धा विनै निर्विरोध अध्यक्ष वनाउने केन्द्रको निर्णयले आउँदा दिनमा पार्टी भित्र कस्तो परम्परा रहला?
केपी शर्मा पुस २२, २०७८
चितवन । सर्वोच्च अदालतले नेकपालाई पुरानै अवस्थामा फर्काएपछि वनेको नेकपा एमालेमा जिल्ला नेतृत्व तहको अधिवेशन यही पुस २३ र २४ गते हुने भएको छ । एमालेका शुक्रवार अध्यक्ष केपी शर्मा ओलीले ७७ वटै जिल्ला अधिवेशनलाई एक साथ सम्वोधन गरेर उद्घाटन गर्नेछन् ।
जिल्ला अधिवेशनको सरगर्मी चितवनमा पनि निकै बढेको छ । महिनौँ अघिदेखि आफूलाई विभिन्न पदका लागि दावेदार गर्ने कार्यकर्ताको सक्रियता यतिवेला अझ बढेको छ । उनीहरु दिनरात छलफलमा जुटिरहेका छन् । यो समाचार तयार पार्दा सम्म चितवनको एमाले पार्टी कार्यालयमा समूहगत छलफलहरु चलिरहेका छन् ।
अधिवेशनको मिति तयभएदेखी जिल्ला अध्यक्षका लागि धेरै जाना आकांक्षी देखिएपनि अधिवेशन सुरु हुने अघिल्लो दिन आइपुग्दा जिल्ला नेतृत्व हाँक्ने अध्यक्षको भने टुंगो लागिसकेको स्रोतले बताएको छ ।
अध्यक्षका लागि रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्णप्रसाद भुर्तेल र कमलप्रसाद पाठकले आफूलाई दावेदारका रुपमा अगाडि सारेका छन् । उनीहरुले सामाजिक संजाल मार्फत आफ्नो उम्मेदवारीको प्रचारप्रसार गरिरहेको छन् । समूहगत रुपमा पनि छलफललाई तीव्र पारेका छन् । तर एमालेमा भनेजस्तो सजिलो सिनारियो देखिदैन । जसले जुनसुकै पदमा आफूलाई दावी गरेपनि केन्द्रबाट आएको निर्णयलाईनै पहिलो प्राथमिकता दिनुपर्ने वाध्यतामा रहेको पाइन्छ । सम्भवत उनीहरु अहिले केन्द्रकै निर्णयको पर्खाइमा छन् ।
दावेदारमध्ये न्यौपाने भरतपुर महागनरपालिका कमिटिका पूर्व अध्यक्ष हुन् भने उनलाइ केपी शर्मा ओलीको साथ रहेको स्रोत बताउँछ । खड्का पनि प्रभावशाली जिल्ला नेताको रुपमा चिनिन्छन् । माधव नेपाल समूहबाट राजनीति गर्दै आएका खड्का अन्तिम अवस्थामा १० भाईसँगै एमालैमै फर्कीएका हुन् । त्यसैले पनि उनलाई अध्यक्षमा जित हात पार्न त्यति सहज छैन । किनकी ओलीले १०भाई समूहबाट आएका नेताहरुलाई केन्द्रमा गरेको व्यवहार यहाँपनि नहोला भन्न सकिन्न ।
त्यस्तै भुर्तेल वागमती प्रदेश कमिटी सदस्य एवम वागमती प्रदेश सभा सदस्य हुन् । पश्चिम चितवनका उनी जिल्लाको विकासका लागि काम गरिरहेको भन्दै अध्यक्ष हाँक्न अग्रसर देखिएका हुन् । पाठक भने जिल्लाको कुनै तहमा नरहेपनि २०६२÷०६३ को जनआन्दोलनमा धेरै युवाहरुलाई परिचालन गर्न सक्षम नेताको रुपमा चिनिन्छन् । सो समयमा उनी युवा संघ चितवनका अध्यक्ष समेत रहेका थिए । आन्दोलनमा सक्रिय भएका पाठकलाई तत्कालिन अवस्थामा नेपाली सेनाले थ्रेट दिएर लामो समयसम्म निगरानीमा समेत राखेको थियो ।
तर यी सवै योगदान र आकांक्षावीच जिल्ला अध्यक्षमा रामप्रसाद न्यौपानेलाई नै सर्वसम्मत गरिने पक्कापक्की भएको स्रोतको दावी छ । स्रोत भन्छ,“पार्टी नेतृत्वको भावना र कार्यकर्ताको चाहाना अनुसार भन्दै न्यौपानेलाई जिल्ला अध्यक्षमा सर्वसम्मत गराउने कसरत जारीछ । ”
अध्यक्षमा न्यौपाने सर्वसम्मत हुने भएसँगै अव भिडन्त उपाध्यक्ष र सचिव लगायतका पदमा हुने भएको छ । यता सचिव र उपाध्यक्ष मध्ये एउटा पद आफूलाई दिनुपर्ने बादल समूहको अडान रहेको स्रोत बताउँछ । स्रोतका अनुसार उपाध्यक्ष वा सचिव मध्ये एक पदमा माओवादी त्यागेर एमालेमै बसेका रामवहादुर थापा बादल समूहका प्रकाश खनाललाई दिने तयारी गरिएको छ ।

सचिवमा भने सर्वसम्मत गराउने सकिने अवस्था नरहेको स्रोत बताउँछ । सचिव पदका लागि प्रकाश ढुँङ्गाना र घनश्याम कडेँलको भिडन्त हुने पक्का छ । ढुँगाना वर्तमान जिल्ला उपसचिव हुन् । उनी अन्तिम अवस्थासम्म माधव नेपालको साथामा रहेका र १० भाई सँगै एमालेमा फर्कीएका हुन् ।
ढुँगाना तेजेन्द्र खड्का सँगै एमाले फर्कीएका भएपनि अहिले भने कृष्णभक्त पोखरेलको लाइनमा उनी परेका छन् । जिल्लामा कृष्णभक्तको वर्चश्व राम्रै भएकाले सचिवमा चुनावै भएपनि ढुँगानाले वाजी मार्न सक्ने स्रोतको दावी छ । यता कडेँल भने सुरेन्द्र पाण्डेको नजिकका मानिन्छन् । पाण्डे अर्थमन्त्री हुँदा कडेँल उनको निजी सचिव थिए ।
कार्यसमितिमा महिलाको प्रतिनिधित्व अनिवार्य भएपछि वर्तमान उपसचिव सुर्यवर्दना हमाललाई सोही पदमा दोहोर्याउने सम्भावना रहेको पनि स्रोत बताउँछ । त्यस्तै सोही पदका लागि भरतपुर महागनरपालिकामा उपमेयर पदमा उठेर पराजित भएकी दिपा आचार्यको पनि चर्चा उत्तीकै चलेको छ । त्यस्तै सुनिता अधिकारीको पनि चर्चा छ ।
उनलाई वागमती प्रदेश कमिटीबाट झारेर प्रतिनिधि बनाइ जिल्लामा ल्याइउको हो । त्यसैले पनि उनको उम्मेदवारी रहने पक्का देखिन्छ । प्रदेश कमिटीमा रहेकी अधिकारी लाई जिल्लामा पदाधिकारी बनाउनकै लागि त्यसो गरिएको स्रोत बताउँछ ।
एमालेको विद्यान अनुसार जिल्लामा १२५ जनाको कमिटि बन्नेछ । जसमा अध्यक्ष १ , उपाध्यक्ष १, सचिव १ , उपसचिव २ जना र वाँकी सदस्यहरु हुनेछन् । ती पदमा उठ्ने उम्मेदवारहरुलाई जिताउन हालसम्म १४०३ जना प्रतिनिधिहरुको टुंगो लागिसकेको छ । सहमतिको आधारमा उक्त संख्या केही बढ्ने देखिन्छ । यदि सर्वसम्मत नभए यीनीहरुलेनै मत हालेर उम्मेदवारलाई जिताउने छन् ।
एमाले चितवनको अधिवेशन पुस २३, २४ गते भरतपुरको कृष्णपुर स्थित तारापुञ्ज रिर्सोटमा हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८