• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने

  • खबरदाता

माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने

 

पुस १८,२०७८

नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आइतबार सम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो । त्यसमा खुल्लातर्फ १३२ जना र सामानुपातिकतर्फ १२५ जनाको नाम प्रस्तुत गरिएको थियो । सबै नामलाई बन्दसत्रले अनुमोदन गरेको हो । महाविधेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले सोमबार बस्ने नवनिर्वाचित केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जानकारी दिए ।

महाधिवेशनले समसामयिक प्रस्ताव पारित गरेको छ । माओवादीले केही समयदेखि सम्बन्धित समिति चयन गर्ने र सोही समितिमार्फत पदाधिकारी चयन गर्ने प्रणाली अवलम्बन गर्दै आएको छ । सोही प्रणालीअनुसार सोमबार बस्ने २३६ सदस्यीय केन्द्रीय समितिको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने भएको छ ।

केन्द्रीय समितिको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने भएको छ । सहमतिका आधारमा पदाधिकारी चयन हुन नसके मात्रै केन्द्रीय समितिमा मतदान गर्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

माओवादीको महाधिवेशन अघिल्लो आइतबार कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन भएको थियो । महाधिवेशन आठ दिनसम्म जारी रह्यो । आठौँ महाविधेशन आठ दिनमै सम्पन्न भएको माओवादीले जनाएको छ ।

आइतबार उद्घाटन, सोमबार अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव र नेता देवप्रसाद गुरुङले विधान पेश गरेका थिए । मङ्गलबार र बुधबार समूहगत छलफल भएको थियो । समूहगत छलफलका लागि विभिन्न २५ समूह निर्धारण गरिएको थियो ।

बुधबार अपरान्ह्देखि बिहीबारसम्म समूहगत छलफलका क्रममा उठेका विषय वस्तुमाथि समूहका नेताले आफ्नो धारणा प्रस्तुत गरेका थिए । शुक्रबार अध्यक्ष प्रचण्डले समूहगत छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए । शनिबार नेतृत्व चयनलगायत विषयमा छलफल भएको थियो ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको बन्दसत्रमा सुरुमा निर्वाचन आयोग, अनुशासन आयोग र लेखापरीक्षण आयोगको प्रमुख तथा सदस्य चयन गरिएको थियो ।

त्यसपछि बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । अध्यक्षको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको नेता महराले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस १८, २०७८, आइतवार १४:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८