पुस १७,२०७८
रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।
सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे ।
लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुने भएको हो । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको छ । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिने छ । वडा नम्बर ५ को रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो । वडाका करिब ५ सय घरधुरीमा खानेपानीको सहज सुविधा पुर्याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताए ।
पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउने छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ । उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ ।
समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहनुभएको छ । अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन् ।
वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पुर्याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताए । अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीनवटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ । जनसङ्ख्या वृद्धि र बस्ती विकास हुँदै गएकाले भोलिका दिनमा थप पानीको आवश्यक पर्ने भएकाले अहिलेबाट थाक्नाखोला खानेपानी आयोजना निर्माणको काम सुरु गरिएको बताइएको छ ।रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८