पुस १६, २०७८
माओवादी महाधिवेशनमा केही प्रतिनिधिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसामा नै ठूलो समय खर्च गरेका छन्। महाधिवेशनस्थलमा पनि दाहालको देवत्वकरण गर्ने प्रकृतिका सामग्री झकिझकाउ छन् । माओवादीमा व्यक्तिपूजाको खतरनाक संस्करण यही महाधिवेशनमा देखिएको छ।
माओवादी महाधिवेशनस्थल कमलादीस्थित प्रज्ञा भवनको दृश्य हेर्ने हो भने संसारको जुनकुनै तहको कम्युनिस्टले पनि लाजले शिर निहुराउनुपर्ने अवस्था छ । कार्यक्रमस्थल प्रवेश गर्ने ठाउँमै अध्यक्ष दाहालको बडेमानको बुख्याँचा राखिएको छ । ब्यानर, तुल, टोपीमा पनि दाहाल नै दाहाल छाएका छन् । यही शैली यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले अपनाएका थिए ।
दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न समूहमा भएका छलफलका निचोड प्रस्तुत गर्ने क्रममा केही टोली नेताले दाहाललाई यो युगकै नेता भन्दै अतिशयोक्तिपूर्ण बयान गरे । दाहालको प्रशंसा गर्ने जमातले जसरी हुन्छ, उनलाई पार्टीमा निर्विकल्प सावित गर्न खोजिरहेको देखिन्थ्यो। दाहाललाई सर्वगुण सम्पन्न भनेर व्याख्या गर्ने त्यो जमातमा निख्खर माओवादीभन्दा बढी सत्ताको लाभ पटकपटक पाएको र अवसरवादीहरुको झुण्ड थियो । तीमध्ये केहीले त वर्तमान कालखण्डलाई प्रचण्डयुग घोषणा गर्नेसम्मको प्रस्ताव गरेका थिए । यो सुनेर कतिपय स्वाभामानी कार्यकर्ता लाजले भुतुक्क भएका थिए ।
आफ्नो प्रसंशामा फूल बर्साइएपछि दाहाल मञ्चमा दंगदास देखिन्थे । अर्थात् आफ्नो देवत्वकरण गरेकामा मख्ख थिए । उनकै योजना र इच्छामा यो सब भइरहेको उनकै हाउभाउले देखाउँथ्यो । अझ भन्दा नेतृत्वको कृत्रिम र भद्दा प्रसंशामा पनि यो मध्य पुसको जाडोमा न्यानो महसुस गर्नु प्रचण्डको बाध्यता हो या रोग, खुट्याउनुपरोइन । किनभने उनकै विगत हेर्दा पनि अहिले उठेका प्रश्नको जवाफ मिल्छ ।
माओवादीले सशस्त्र संघर्ष गर्दा अपनाएको नीतिलाई अध्यक्ष दाहालले आफ्नै नामबाट प्रचण्डपथ नामकरण गरेका थिए । बाबुराम भट्टराई, मोहन वैद्यजस्ता नेताहरूको योगदान र अस्तित्वलाई नै ओझेल पार्ने गरी दाहालले नै प्रतिपादन गरेको पथ प्रदर्शक सिद्धान्त भनेर समेत घोषणा गरिएको थियो । प्रचण्डले पार्टी एकल प्राधिकार स्थापित गर्न जनयुद्धदेखि शान्ति प्रकृयासम्मै अपनाएका हत्कण्डा पनि कम रोचक छैनन् ।
आत्मप्रशंसा र देवत्वकरणमा रमाउन खोज्ने दाहालले पार्टीमा स्वस्थ बहस र आलोचना नरुचाउने गरेको पनि उनको विगतबाट प्रस्ट हुन्छ । असहमतिका स्वर दबाउन सशस्त्र संघर्षकालमै भट्टराईसहित कतिपय नेतालाई बन्धकसमेत बनाएका थिए । केन्द्रीय सदस्य यानप्रसाद गौतम आलोक त प्रचण्डकै निर्देशनमा माओवादी लडाकूबाटै मारिएका थिए । दाहालको यही स्वभाव र शैलीका कारण माओवादीमा विभिन्न चरणमा फुट मात्र आएन, मोहन वैद्य, बाबुराम भट्टराई, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्दजस्ता कयौं प्रभावशाली नेता पाखा लागेका छन् ।
माओवादीको जारी महाधिवेशनमा पनि अध्यक्ष दाहालले आफूविरुद्ध औँला उठाउने सम्भावनालाई रोक्न प्रतिनिधि चयनदेखि नै सहमतिका नाममा अनेक प्रयत्न गरेको कहीँ लुकेको छैन । पार्टी विभाजनले फरक मत राख्ने नेताहरु अलग्गिँदै र संगठन ख्याउटिँदै जाँदा पनि नेतृत्व आफैले आफैलाई विशिष्ट र शक्तिशाली देखाउने अभ्यासमा रमाउनु हास्यास्पद मात्र देखिन्छ ।
सामूहिकतालाई छोडेर दाहालले स्वयंलाई केन्द्रमा राखेको आरोप लगाउँदै युवा नेता लेखनाथ न्यौपानेले त फरक दस्तावेज नै बन्दसत्रमा प्रस्तुत गरेका छन् । उनले प्रतिवेदनमा अध्यक्ष दाहालमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको, माओवादी पार्टीमा एमालेमाजस्तै बा प्रवृत्ति देखिएको र अध्यक्षको प्रतिवेदन दक्षिणपन्थतर्फ अग्रसर भएको बताएका छन् । उनले प्रतिवेदनलाई असाध्यै हलुका भएको र खुट्टाले नटेकी जमिनमाथि उडान भरेको टिप्पणी गर्न भ्याएका छन् ।
व्यक्ति र वंशको सत्ता ढाल्न ठूल्ठूला आन्दोलन भए । त्यस्तै एउटा आन्दोलनको नाम माओवादी हो । तर माओवादीभित्रै नेतृत्वमा देवत्वकरण र आत्मप्रशंसाको अनौठो भोक देखिन्छ । कृत्रिम र भद्दा महत्तागानमा नेतृत्व रमाउन पुग्नु माओवादी आदर्शको मुख्य विचलन पनि हो । संगठनमा आर्थिक र नैतिक भ्रष्टीकरणको सुरुवातसमेत यही विन्दुबाट हुन्छ । अवसरवादी झुण्डले यस प्रवृत्तिको जयजयकार गरे पनि कुनै लोकतान्त्रिक समाजले पचाउन सक्दैन । हेक्का रहोस्, नेपाली समाज पुराना नेताहरुको चेतनाभन्दा निकै अघि बढिसकेको छ ।
लेखनाथ न्यौपानेको फरक मतले दिएको सन्देश पनि यही हो । तसर्थ आफू लोकप्रिय रहेको देखाउन मातहतका कार्यकर्ताबाट भद्दा र कृत्रिम प्रकृतिको प्रशंसा गर्न लगाउने, आफै सशरीर उपस्थित भएको कार्यक्रममा पनि बडेमानका बुख्याँचा बनाउन लगाउने ओलीको शैली अनुशरण गरेर प्रचण्डले आफ्नै कद घटनाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८