पुस ११,२०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग गरिएको एकता गलत नभएको र फेरि समीक्षा गर्न आग्रह गरेका छन्।
आइतबार माओवादीको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले राम्रो उद्देश्यका साथ एमालेसँग एकता गरिएको बताए। “पार्टी एकता गरेर गल्ती गरेका थिएनौं। फेरि आत्मसमीक्षा गरौं,” प्रचण्डले भने, “हाम्रो उद्देश्य गलत थिएन। यो देशलाई स्थायित्व र समृद्धितिर लग्ने थियो।”
उनले यस विषयमा समीक्षा गर्न एमाले नेताहरूलाई पनि आग्रह गरे। “एमाले नेता तथा कार्यकर्तालाई फेरि आत्मसमीक्षा गर्न आग्रह गर्दछु,” प्रचण्डले भने।
महाधिवेशनबाट माओवादी नयाँ जोस र जागरका साथ आउने उनको विश्वास थियो। त्यसका लागि आफूले राजनीतिक दस्तावेजमा निर्मम ढंगले आत्मसमीक्षा गरेको उनले बताए। प्रचण्डको राजनीतिक प्रतिवेदन माओवादीको बन्दसत्रमा प्रस्तुत गरिनेछ।
“शान्तिपूर्ण राजनीतिमा आएपछि विचार, संगठन, संरचना निर्माण, रणनीति, कार्यनीतिका सम्बन्धमा हामी कहाँ चुक्यौंरु,” दाहालले भने, “राजनीतिक दस्तावेजमा मैले आत्मसमीक्षा गरेको छु, आफैलाई चिरफार गरेको छु।”
महाधिवेशनमा सबैले आत्मसमीक्षा र आत्ममूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो। “सबैलाई उत्प्ररेण देओस् भन्ने उद्देश्यले गम्भीर आत्मसमीक्षासहित जनतामा प्रस्तुत हुने गरी महाधिवेशनमा प्रस्तुत हुनेछौं,” प्रचण्डले भने।
आइतबार शुरू भएको माओवादीको आठौं राष्ट्रिय महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनबाट नेतृत्व चयन हुनेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८