• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एमसीसी बहसमा एमालेको दोहोर चरित्र,सता गठबन्धमा अन्योलता

  • खबरदाता

एमसीसी बहसमा एमालेको दोहोर चरित्र,सता गठबन्धमा अन्योलता

पुष ७, २०७८

विकासका परियोजनाहरुमध्य संभवत नेपाली राजनीतिक बृत्तमा सवैभन्दा धेरै बहसको विषय बनेको छ अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसीका विषयमा सत्तारुढ दल, विपक्ष वा हरेक दलभित्रै फरक फरक धारणा विद्यमान छन् ।

नेपाली समाज पनि यस विषयमा प्रष्ट रुपमा बाँढिएको छ । सार्वजनिक बसहमा आउन सक्ने देशको अधिकाँश हिस्सा भने अमेरिकी सहयोग परियोजना पास गरेर नेपालमा लागू गर्न नहुने पक्षमा छ । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसमा फाट्टफुट्ट मत विपक्षमा भएपनि संस्थागत हिसावले काँग्रेस एमसीसी परियोजना संसदबाट पास गरेर लागु गराउने पक्षमा छ ।

सरकारमै रहेको अर्को निर्णायक दल माओवादी केन्द्र बैदेशिक सहयोग स्वीकार गर्ने तर त्यो राष्ट्रिय हितमा हुनुपर्ने तर्कसहित एमसीसी संशोधन गरेर मात्रै पारित गराउने पक्षमा छ । नेकपा एकीकृतको धारणा माओवादीसँगै मिल्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यस विषयमा दोहोरो मापदण्ड देखाएको छ । निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले एक पटक हैन पटक पटक बोलेका छन् ।

सार्वजनिक समारोहमा मात्रै हैन, दलीय बैठक र संसद भित्र समेत एमसीसी कुनै हालतमा पारित गर्ने पक्षमा आफूहरु रहेको बताएका छन् । सरकारबाट बाहिरिएपछि एमालेले बोली फेरेका छ । एमालेका शीर्ष नेता मौन बसेका छन् भने, तेश्रो, चौथो तहका नेताहरु एमसीसीको विरोधमा आवाज निकाल्न थालेका छन् ।नेपाली समाजमा एमसीसीबारे नकारात्मक धारणा रहेकाले एमाले चुनावको मुखमा मतदाताको नजरमा आलोचित नहुन विरोधको स्वर निकाल्न थालेको छ ।

अमेरिकी सरकार र अधिकारीहरुसँग आफैंले सम्झौता गरेर पास गर्ने प्रतिवद्धता पनि गरेकाले शीर्ष नेताहरु एमसीसीको विरोधमा मुख खोल्न सकेका छैनन् । मंगलबारमात्रै यस विषयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए ।

एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए । उनले भने, ‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । स्पष्ट गर्न चाहन्छु म नेकपा एमालेको तर्फबाट यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौं ।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटासामू दुई वटा विकल्प रहेको दोहोर्‍याएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख समक्ष दुई वटा विकल्प रहेको आफूहरुले सम्झाएको बताए ।

‘तपाईंका सामुन्नेमा दुईटा विकल्प छन् । एउटा तपाईंले यथासिघ्र नेकपा एमालेले निष्काशन गरेका सांसदहरुको हकमा सूचना प्रकाशित गर्नुस् । बिलम्ब भए पनि र गल्ती महसुस गर्नुस् । यदि त्यसो गर्न चाहनुहुन्न भने मार्गप्रशस्त गर्नुस’ सभामुखलाई गरेको आग्रह सुनाउँदै भट्टराईले भने । एमाले आफै अन्यायमा परेको उल्लेख गर्दै उनले थपे, ‘एमाले आजीवन जनताको न्यायका लागि लड्यो । अब आफैँलाई अन्याय हुँदा नलड्ने कुरो भएन ।’ जबसम्म सभामुखले आफूहरुले दिएका दुई वटा विकल्पमध्ये एउटा रोज्नुहुन्न तबसम्म एमालेले संसद अवरोध गरिरहेको उनको भनाइ छ ।

केही समय अघि मात्रै अध्यक्ष ओली निकट मानिने सा‌सद निरुदेवी पालले भनेकी थिइन्,‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौताका लागि राष्ट्रिय सहमति गर्नु पर्ने आवश्यकता किन आइलाग्यो रु, ‘एमसिसीले तयार पारेको प्रस्तावानामा छलफल गर्न, व्यवस्था बुझ्न र स्पष्टीकरण सोध्न समेत पाउने छैन् । एमसीसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाझिएको खण्डमा स्वत नेपालको संविधानमा उल्लेखित कानुन लागू हुनु पर्ने होइन र रु’ ‘दुवै कानुन बाझिएको खण्डमा एमसीसीको कानुन लागू हुने भनिएको छ। यिनै आधार काफी छैनन् र एमसिसी खारेज गर्न ? विकासका लागि बाह्यि शक्तिको हस्तक्षेप कुनै पनि हालतमा सह्य हुने छैन्,’ पालले भनेकी थिइन्।

  • प्रकाशित मिति : पुस ७, २०७८, बुधवार ०१:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८